
तुलसीपुर उपमहानगरपालिका–९ मा निर्माणाधीन नवदुर्गा ग्रिन पार्क विस्तार र सौन्दर्यीकरणका काम तीव्र गतिमा अघि बढिरहेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा औपचारिक रूपमा सिलान्यास गरिएको यो पार्क हाल करिब दुई बिघा क्षेत्रफलमा फैलिएको छ । सुरुवाती चरणमा पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पाँच हेक्टर क्षेत्रफलको तयार पारिए पनि अहिले सो क्षेत्रफलमा विस्तारका लागि थप बजेट र जग्गा व्यवस्थापनका प्रक्रिया जारी छन् ।
वडा नं. ९ ले नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरेर पार्क निर्माणको थालनी गरेको हो । नवदुर्गा ग्रिन पार्क विकास तथा व्यवस्थापन समितिका सचिव प्रकाश विकका अनुसार पार्क निर्माणमा प्रदेश सरकार र वडा कार्यालय दुवैले निरन्तर चासो देखाउँदै आएका छन् ।
“तीन वर्षको अवधिमा प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट मात्रै करिब ५० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ,” विकले भन्नुभयो, “त्यस्तै वडा कार्यालयले पनि प्रत्येक वर्ष बजेट छुट्याउँदै आएको छ, जसले कामलाई निरन्तरता दिन मद्दत पुगेको छ।”
गत वर्ष गठन भएको नयाँ कार्यसमितिले एक वर्षको अवधिमा वडा कार्यालयको ४ लाख र प्रदेश सरकारको १० लाख गरी कुल १४ लाख रुपैयाँको विकासकार्य सम्पन्न गरेको छ । अहिले पार्कमा अङ्गेरी कुलो सिँचाइ परियोजनासँग सहकार्य गरेर सिँचाइको व्यवस्था मिलाइएको छ, जसले हरियाली संरक्षणमा सहयोग पुगेको छ ।
यसै आर्थिक वर्षमा वडाले विनियोजन गरेको १ लाख रुपैयाँबाट कुवा खन्ने योजना अघि बढाइएको समितिका सचिव विकले जानकारी दिनुभयो । उहाँका अनुसार, “आगामी वर्षहरूमा थप बजेट विनियोजन भएमा पार्कलाई पर्यटकमैत्री र प्राकृतिक आनन्द दिने किसिमले विकास गर्ने योजना छ।”
पार्कमा हाल पिकनिकका लागि टहरा निर्माण, अमृतपुर खानेपानीबाट खानेपानीको व्यवस्था, र घुम्न आउनेहरूका लागि खाजाघरको सुविधा उपलब्ध छ । साथै, प्रदेश सरकारमा पठाइएको प्रस्तावअनुसार पार्कमा काठका पुल, रेलगाडी, हात्ती, घोडा जस्ता आकर्षक वस्तुहरू राख्ने योजना पनि अघि सारिएको छ ।
पार्कलाई दिगो र आकर्षक बनाउन व्यवस्थापन समिति बिधान अनुसार सञ्चालन गर्ने प्रक्रियामा छ । स्थानियहरू समेत सक्रिय सहभागिता जनाइरहेका छन् । सचिव विकका अनुसार, “आफ्नै गाउँमा सुन्दर पार्क बन्ने भएपछि स्थानीयले पनि सहयोग र योगदान गर्न थालेका छन्।”
पार्क निर्माणले स्थानीय पर्यटन प्रवर्द्धन, मनोरञ्जन स्थलको विकास, र सामुदायिक सहकार्यको उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । परियोजना पूर्णरूपमा सम्पन्न भएपछि यो पार्क तुलसीपुर उपमहानगरको एक महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ ।

