थ्रि जिरो क्लबका विद्यार्थीद्वारा अम्बिकेश्वरी मन्दिर सरसफाइ



मेरिल्याण्ड पब्लिक एकेडेमीमा अध्ययनरत थ्रि जिरो क्लबका छात्र–छात्राले आज दाङको प्रसिद्ध धार्मिक स्थल अम्बिकेश्वरी मन्दिर क्षेत्रमा सरसफाइ गरेको छन्। कक्षा ६ देखि १० सम्मका विद्यार्थीको सक्रिय सहभागितामा गरिएको सरसफाइ अभियानले मन्दिर परिसर झनै सफा र सुव्यवस्थित बनेको विद्यालयले जनाएको छ।

मन्दिर सरसफाइ कार्यक्रम विद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा, मन्दिर व्यवस्थापन समितिका सचिव दामोदर भुषालको प्रमुख आतिथ्यतामा तथा ग्रामीण महिला उत्थान केन्द्रकी कोषाध्यक्ष मिरा चौधरीको विशेष आतिथ्यतामा सुरु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भुषालले बालबालिकालाई वातावरण संरक्षण र धार्मिकस्थलको सरसफाइ जस्ता सामाजिक जिम्मेवारीका विषयमा शिक्षित गराएकोमा विद्यालय र ग्रामीण महिला उत्थान केन्द्रप्रति धन्यवाद व्यक्त गर्नुभयाे । उहाले आगामी दिनमा पनि मन्दिर क्षेत्रमा हुने सामूहिक गतिविधिमा सहयोग रहने विश्वास व्यक्त गर्नुभयाे ।

विशिष्ट अतिथि मिरा चौधरीले ग्रामीण महिला उत्थान केन्द्रले गत वर्ष मेरिल्याण्ड स्कूलमा थ्रि जिरो क्लब गठन गरी प्रारम्भ गरेको अभियानलाई विद्यालयले उत्साहका साथ निरन्तरता दिएकोमा खुसी व्यक्त गर्नुभयाे । उहाले क्लब, विद्यार्थी, शिक्षक तथा अभिभावकलाई धन्यवाद दिंदै आगामी दिनमा पनि संस्थाले विद्यालयसँग सहकार्य गर्दै जाने बताउनुभयाे ।

थ्रि जिरो अर्थात् शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जन भन्ने अवधारणालाई आत्मसात् गर्दै विद्यार्थीले गरेको मन्दिर सरसफाइ कार्यक्रममा सहयोग गर्ने सबैप्रति प्रधानाध्यापक श्रेष्ठले आभार प्रकट गर्नुभयाे । उहाले विद्यालयले प्रत्येक शुक्रबार सामाजिक र शैक्षिक उद्देश्यका गतिविधि अगाडि बढाइरहेको जानकारी समेत दिनुभयाे ।

कार्यक्रममा थ्रि जिरो क्लबका फोकल पर्सन सोनी बुढा, क्लबमा आवद्ध विद्यार्थी, विद्यालयका शिक्षक–शिक्षिका तथा ग्रामीण महिला उत्थान केन्द्र दाङका पदाधिकारी र कर्मचारीको उपस्थिति रहेको थियो। ग्रामीण महिला उत्थान केन्द्रले विद्यालयमा गठन भएको थ्रि जिरो क्लबमार्फत निरन्तर सामाजिक सचेतना तथा वातावरणमैत्री गतिविधि सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्