पाल्पामा दाङका विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते



दाङको राजपुरबाट शैक्षिक भ्रमणमा गएको विद्यार्थी बोकेको बस पाल्पामा दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी होमप्रकाश चौधरीका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य छ।

ना ५ ख १०८९ नम्बरको बस तानसेन रानीमहल सडकअन्तर्गत तानसेन १३ बैकुण्ठे भिर नजिक अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो। घाइतेहरूलाई उद्धार गरी तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दाङको राजपुर गाउँपालिका, घोराही उपमहानगरपालिका क्षेत्रका विद्यार्थी तथा चालकसहित ११ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते हुनेहरूमा दाङको राजपुर गाउँपालिका ४ का ४० वर्षीय शत्रुघ्न गुप्ता, घोराही उपमहानगरपालिका ११ का २२ वर्षीय दामोदर रेउले, चालक घोराही १४ का ३५ वर्षीय सन्तोष ढकाल रहेका छन्।

त्यसैगरी राजपुर गाउँपालिका ५ की १२ वर्षीया सन्ध्या भण्डारी, गाउँपालिका ६ की १८ वर्षीया दिलकुमारी रावत, १० वर्षीया सन्तोषी चौधरी, १९ वर्षीय अजय नेपाली पनि घाइते भएका छन्।

यस्तै राजपुर ५ की २३ वर्षीया सिर्जना यादव, १३ वर्षीय आयुष भण्डारी, १५ वर्षीय अभिषेक यादव तथा घोराही उपमहानगरपालिका ५ का ३५ वर्षीय बसन्त योगी पनि घाइते भएको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८२ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्