
तुलसीपुर महोत्सवमा सञ्चालनमा रहेका दर्जनौं स्टलमध्ये एक फुड स्टल यतिबेला दर्शकको विशेष आकर्षणको केन्द्र बनेको छ। मेट्रो कलेज, तुलसीपुरका व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूले सञ्चालन गरेको उक्त स्टलमा पाइने स्पेसल कोदोको मोमो खान दैनिक ठूलो भिडभाड लाग्ने गरेको छ।
स्वास्थ्यका लागि लाभदायक मानिने कोदोबाट तयार गरिएको मोमोको फरक स्वादका कारण ग्राहकको आकर्षण बढेको स्टल सञ्चालक बताउँछन्। महोत्सव अवलोकन गर्न आउने धेरैजसो दर्शक काेदाेकाे मोमो खानका लागि लामो समय पनि कुर्छन् । जाडाे भएको समयमा काेदाेकाे माेमाे खादा पाउँदा राम्रो लाग्छ, घरमा बनाएकाे जस्तो स्वादिलाे छ , मिठो छ – एक ग्रााहकले भने ।
स्टलमा खटिएका विद्यार्थी चिरञ्जीवी बुढामगरका अनुसार कोदोको मोमो तयारी र व्यवस्थापन चुनौतीपूर्ण भए पनि ग्राहकको प्रतिक्रिया उत्साहजनक छ।
“कोदोको मोमो बनाउने र समयमै ग्राहकसम्म पुर्याउने काम सजिलो हुँदैन। भीड धेरै हुँदा केही समय कुर्नुस् भन्नुपर्छ,” उनले भने, “तर ग्राहकको माया र रुचिले हामीलाई थप हौसला मिलेको छ।”
उनका अनुसार स्टलबाट दैनिक करिब ९ देखि १० हजार रुपैयाँसम्मको कारोबार हुने गरेको छ। पढाइसँगै आम्दानी गर्ने र व्यवहारिक सीप सिक्ने अवसर पाएकोमा विद्यार्थीहरू खुसी देखिन्छन्।
हाल उक्त स्टलमा १५ जना विद्यार्थी खटिएका छन्। उनीहरूले कलेजमा सिकेको व्यवस्थापन, ग्राहक सेवा, समय व्यवस्थापन र टिमवर्कको ज्ञान व्यवहारमा उतारिरहेका छन्। विद्यार्थीहरूका अनुसार महोत्सवले उनीहरूलाई उद्यमशील बन्ने आत्मविश्वास पनि दिएको छ।
तुलसीपुर महोत्सवमा कोदोको मोमोले स्वाद मात्र होइन, पढ्दै कमाउँदै आत्मनिर्भर बन्ने युवाको प्रयासलाई समेत उजागर गरेको छ।
स्थानीय महोत्सवमा विद्यार्थीको यस्तो सक्रियता अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेको छ।

