दीपक डाँगी
नेपालका युवाहरूको ठूलो सपना हो—एकदिन विदेश जाने, राम्रो पढाइ गर्ने र परिवारको अवस्था सुधार्ने। खासगरी पछिल्ला केही वर्षदेखि जापान नेपाली विद्यार्थीहरूको मुख्य गन्तव्य बनेको छ। भाषा सिक्न सजिलो, भिसा सजिलो, काम धेरै भन्ने प्रचारका आधारमा वर्षेनी हजारौं विद्यार्थी जापान आइपुग्छन्। तर यो चम्किलो सपना जब यथार्थमा बदलिन्छ, तब सुरु हुन्छ संघर्षको यात्रा—जसमा आँसु छन्, निराशा छ, अनि कहिलेकाहीँ चाहिँ गहिरो अन्धकार पनि।
नेपालमा सुरु हुने सपना: महँगो भाषा, महँगो भ्रम
जापान आउनु अघि विद्यार्थीहरूले नेपालमै जापानी भाषा सिक्नुपर्छ। कन्सल्टेन्सीहरूमा ६ महिनादेखि १ वर्षको कोर्सको नाममा हजारौं रुपैयाँ असुलिन्छ। कतिपय स्थानमा राम्ररी सिकाइन्छ र राम्रो पढाइन्छ, तर धेरैजसो कन्सल्टेन्सी व्यापार केन्द्र जस्तै बनेका छन्।
– “हामी तपाईंलाई भिसा सजिलै निकालिदिन्छौं”,
– “जापान गएपछि राम्रो काम मिल्छ”,
– “३ महिनामै पैसा पठाउन थाल्नुहुन्छ” —
_”तपाईंलाई हामी काम खोज्दिन्छौं”
यस्ता बाचा गर्दै विद्यार्थीहरूलाई लोभ्याइन्छ। विद्यार्थी र अभिभावकहरू पनि उत्साहित हुन्छन्, लाखौं ऋण खोजेर तयारी गर्छन्। तर जापानको जमीनमा पाइला टेकेपछि, ती सबै वाचा केवल सपना थिए भन्ने थाहा पाइन्छ।
पहिलो चरण: ऋणको भारी, देशको दूरी
नेपालमा जापान आउनको लागि लाग्ने खर्च सामान्यतः १५–१८ लाख रुपैयाँसम्म हुन्छ। त्यो पनि धेरैजसोले गहना बेचेर , जमिन धितो राखेर ,आफन्ती बाट ऋण लिन्छन्। जापान आइपुगेपछि सुरु हुन्छ नयाँ जीवन, तर पहिले नै १५–२० दिनसम्म कागजी काम, मोबाइल, बैंक, जस्ता विभिन्न कागज बनाउन समय बित्छ।
पहिलो महिना त बस्ने घरभाडा, खाना, यातायातमै आफ्नो ल्याएको पैसा सकिन्छ। अनि सुरु हुन्छ कामको खोजी—तर काम पाउनु भनेको चिट्ठा परे जस्तो हुन्छ।
काम पाउन कठिन, बाँच्न झन् कठिन
जापान सरकारले विद्यार्थीहरूलाई हप्तामा २८ घण्टा काम गर्न अनुमति दिएको छ। तर त्यो २८ घण्टा काम पाउने अवस्था सबैका लागि हुँदैन। कामको लागि भाषा आवश्यक पर्छ, अनुभव आवश्यक पर्छ, अनि ‘सेउखाई’ अर्थात् चिनजान चाहिन्छ।यदि तपाईंको चिनजानले सिफारिस गर्छ भने तपाईँलाई काम सजिलै मिल्छ। नभए, दैनिक सयौंपटक रेष्टुरेन्ट, फ्याक्ट्री, क्लिनिङ कम्पनीहरूमा आवेदन दिएर पर्खनुपर्छ। कतिपयले २–३ महिना बेरोजगार बस्नुपरेको छ।
सस्तो श्रमिक बन्न बाध्य विद्यार्थी
काम पाउनेहरूलाई पनि सजिलो छैन। जापानमा विद्यार्थीहरूले प्रायः तल्लो स्तरका कामहरू गर्नु पर्छ — जस्तै रेस्टुरेन्टमा भाँडा माझ्ने, फ्याक्ट्रीमा प्याकिङ गर्ने, सपिङ सेन्टरमा सफा गर्ने, रातको पालोमा काम गर्ने आदि।
यो कामले मासिक करिब १३०,०००–१४०,००० येन (नेपाली १ लाख १० हजार – १ लाख २५ हजार जति) कमाइन्छ। तर त्यो रकम कहाँ पुग्छ?
विद्यालयको मासिक शुल्क – ¥50,000–¥70,000
कोठाभाडा – ¥30,000–¥50,000
खाना, बत्ती, ग्यास, इन्टरनेट – ¥20,000–¥30,000
कहिले काँही त खाना किन्ने पैसा पनि नहुने अवस्था आउँछ। धेरै विद्यार्थीहरू दिनमा एकपटक मात्रै खान बाध्य छन्। भान्सामा चामल र नुन मात्रै देखिन्छ। यस्तो अवस्थामा जीवनभन्दा बच्नुपर्ने हुन्छ, पढाइभन्दा कमाइको चासो हुन थाल्छ।
शिक्षाको सपना, श्रमको सास्ती
विद्यार्थीको मुख्य उद्देश्य पढाइ हो। तर जापानमा धेरै नेपाली विद्यार्थीहरू काम गर्नै व्यस्त हुन्छन्। बिहान ५ बजे उठेर ड्युटी, १० बजे स्कूल, दिउँसो फेरी अर्को काम, राति ढिलो घर फर्किने—कोही त रतिको काम गर्ने यो चक्रले गर्दा पढाइमा ध्यान केन्द्रित हुनै सक्दैन।कतिपय विद्यार्थीहरू फेल हुन्छन्, विद्यालयले चेतावनी दिन्छ। समयमै शुल्क तिर्न नसकेर स्कुलले नाम काट्ने अवस्था आउँछ। पढ्न आएका विद्यार्थीहरू श्रमिक बन्छन।
मानसिक स्वास्थ्य र आत्महत्या: लाजको डरले चुप बस्ने रोग
कसैले पनि खुलेर भन्न सक्दैन—”म गाह्रोमा छु”। किनभने नेपालमा आफन्तहरूलाई भन्न लाज लाग्छ। साथीहरूलाई सुनाउन डर लाग्छ। यतिसम्म कि केहीले आत्महत्याको बाटो रोजेका छन्।
अध्ययनले देखाएको छ—जापानमा रहेका धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू मानसिक तनाव, डिप्रेसन र जस्ता विभिन्न रोगको चपेटामा छन्। नेपाली विद्यार्थीहरू यसबाट अछुतो छैनन्।
विद्यार्थीका लागि सुझाव: सोचेर मात्र आउनुहोस्
–राम्रो भाषा तयारी बिना नआउनुहोस्।
-कन्सल्टेन्सीको झुठो प्रचारमा नपर्नुहोस्।
-आर्थिक तयारी बिना विदेश नजानुहोस्।
-जापान सजिलो छैन, मेहनत गर्न तयार हुनुहोस्।
-मानसिक रूपमा बलियो बन्नुहोस्।
निष्कर्ष: देशले सुन्नैपर्छ, बोल्नैपर्छ
विदेशको नाममा आफ्नो भविष्य खोज्न निस्किएका नेपाली विद्यार्थीहरू आज श्रमिक बन्दै गएका छन्। उनीहरूको तलबले केवल आफू पाल्न पुग्छ, परिवारका सपना पूरा गर्ने त परै जाओस्। यो दु:खद सत्य अब लुकाएर बस्ने बेला छैन।
देशले सुन्नुपर्छ।
समाजले बुझ्नुपर्छ।
र, विद्यार्थीले बोल्नैपर्छ।
यो कथा केवल जापानको होइन, हजारौं नेपाली युवाहरूको प्रतिनिधित्व हो।