
महिला हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गर्दै आज तुलसीपुर उपमहानगरपालिकाको प्राङ्गणमा सम्पन्न गरिएको छ।
कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले १६ दिने अभियानमा स्वास्थ्य, शिक्षा, युवा, महिला तथा आम नागरिकको अर्थपूर्ण सहभागिताले प्रभावकारी कार्यक्रम सम्पन्न भएको बताउनुभयाे। उहाले अब हिंसा विरुद्धको अभियान १६ दिनमै सीमित नराखी ३ सय ६५ दिनै समुदायस्तरमा निरन्तर चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयाे ।
समापन कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी वक्ताहरूले आफ्ना धारणा व्यक्त गरेका थिए।
अपाङ्गता क्षेत्रबाट देवा डाँगी, फेडो संस्थाका युवा कराराले हिंसाका स्वरूप बद्लिए पनि पछिल्ला वर्षमा हिंसाका घटना उस्तै रहेको, १८५ घटना दर्ता भएको जानकारी गराउनुभयाे । नवराज लामिछानेले एकअर्काप्रति मानवीय व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभयाे ।
यस वर्षको अभियान “प्रविधिको सही सदुपयोग गरौं, लैङ्गिक हिंसाको अन्त्य गरौं” मुख्य नाराका साथ अघि बढाइएको थियो।
कार्यक्रमकाे शहजिकरण महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नु भएको थियाे । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसङ्गठनका प्रतिनिधि, प्रहरी, पत्रकारलगायत सरोकारवालाको उपस्थिति रहेको थियो।

