
कोशी प्रदेशमा जलवायु परिवर्तन, वातावरणीय संरक्षण र सामाजिक न्यायका सवालमा एकीकृत आवाज निर्माण गर्ने उद्देश्यसहित कोशी प्रदेशस्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन गरिएको छ।
क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को समन्वयमा गठन भएको उक्त सञ्जालले प्रदेशभर क्रियाशील सामाजिक संघसंस्था, अभियन्ता तथा सरोकारवालालाई साझा मञ्चमा आबद्ध गर्ने लक्ष्य लिएको जनाएको छ।
सञ्जालले जलवायु परिवर्तनका बढ्दो असर, वायु प्रदूषण, अव्यवस्थित फोहोर व्यवस्थापन, स्वच्छ हावाको अभाव तथा वातावरणीय अन्यायका मुद्दालाई प्राथमिकतामा राख्दै नीति निर्माणदेखि कार्यान्वयन तहसम्म प्रभावकारी पहल गर्ने योजना अघि सारेको छ। वातावरणीय संरक्षण, दिगो फोहोर व्यवस्थापन, स्वच्छ हावा प्रवर्द्धन तथा जलवायु न्यायका विषयमा वकालत गर्नुका साथै स्थानीय तहदेखि प्रदेशस्तरसम्म जलवायु उत्तरदायित्व प्रवर्द्धन गर्ने सञ्जालको मुख्य उद्देश्य रहेको जनाइएको छ।
सञ्जालमा आबद्ध सदस्य संस्थाहरूको मूल कार्यक्षेत्र जे भए पनि उनीहरूका कार्यक्रम तथा गतिविधिमा वातावरणीय सचेतना र जलवायु जिम्मेवारी समाहित गरिने जनाइएको छ। यसमार्फत विभिन्न क्षेत्रका संस्थाबीच सहकार्य र समन्वय अभिवृद्धि गर्दै साझा अभियान सञ्चालन र समुदायस्तरमा जनचेतना विस्तार गर्ने अपेक्षा गरिएको छ।
गठन बैठकबाट सञ्जालको प्रदेशस्तरीय समिति पनि चयन गरिएको छ। समितिको संयोजकमा लखनलाल साह चयन भएका छन्। सदस्यहरूमा चन्द्रमणि गुरागाईं, किरण घिमिरे, रक्षा सिंह, लोकबहादुर बिष्ट, इन्द्रमाया विश्वकर्मा, सुजाता कुमारी देव, अनिता खतिवडा, जामुना कोईराला सिग्देल, मालती विश्वकर्मा र सुमन कार्की रहेका छन्। विविध पृष्ठभूमिका व्यक्तिहरूको सहभागिताले सञ्जाललाई समावेशी र सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।
गठन बैठकमा रबिन्द्र लामिछाने ले सहजीकरण गर्दै जलवायु संकटको वर्तमान सन्दर्भमा यस्ता सञ्जालहरूको आवश्यकता झन् बढ्दै गएको बताउनुभयाे। उहाले कोशी प्रदेशमा प्रभावकारी जलवायु अभियानको सुरुवातका रूपमा यस सञ्जाललाई महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्नुभयाे ।
सञ्जालले आगामी दिनमा नीति वकालत, क्षमता अभिवृद्धि, जनचेतनामूलक अभियान तथा सहकार्यमा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। स्वच्छ, हरित र न्यायपूर्ण कोशी प्रदेश निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता पनि सञ्जालले जनाएको छ।

