हस्तकला देखि कृषि औजारसम्म : तुलसीपुर महोत्सवमा स्थानीय उत्पादनको आकर्षण



दाङको तुलसीपुरमा स्थानीय उत्पादन, महिला उद्यमशीलता र आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयाेजना गरिएको   तुलसीपुर महोत्सवमा कृषि, वन उद्यम, घरेलु तथा साना उद्योगमा आधारित स्थानीय उत्पादन तथा हस्तकला सामग्रीहरूको  प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ ।

महोत्सव स्थलमा कलमदानी, पूजादानी, फुलदानी, फोटो फ्रेम, मुढा, जुत्ता र्याक, थाकलको ब्याग, अचार, मह, टिमुर छोप, दुना टपरी लगायतका विविध सामग्रीहरू राखिएका छन। जसले दर्शक तथा उपभोक्ताको ध्यान आकर्षित गरेका छन्।

ग्रीन फाउण्डेसन नेपालको सहकार्यमा महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरू महोत्सवको विशेष आकर्षण बनेका छन्। महिला उद्यमीहरूलाई आत्मनिर्भर बनाउँदै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्यसहित उनीहरूले उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका साथ प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ।

महोत्सव अवधिभर प्रदर्शनमा राखिएका सामग्रीहरूमध्ये हट्केस सबैभन्दा धेरै बिक्री भएको फागु चौधरीले जानकारी दिनुभयो। यसले स्थानीय हस्तकला सामग्रीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको देखाउँछ।

यस्तै, दंगीशरण गाउँपालिका ५ बालापुरमा खुकुरी निर्माणमा संलग्न उद्यमले विभिन्न कृषि औजार तथा खुकुरीहरू बिक्री तथा प्रदर्शनका लागि राखेको छ।  सुमित्रा सुनारका अनुसार राम्रो गुणस्तरका सामग्री उत्पादन गर्दा लागत अनुसार मूल्य राख्नुपर्दा केही ग्राहकलाई महँगो महसुस हुने गरेको छ।

आयोजकले तुलसीपुर महोत्सव अवलोकन गरी स्थानीय उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न सबैमा अपिल गरेका छन्। स्थानीय उत्पादनलाई साथ दिनु हामी सबैको दायित्व भएको उल्लेख गर्दै महोत्सवले स्वदेशी उद्यम र सीपको पहिचान गराउने विश्वास लिइएको छ।

प्रकाशित मिति : २०८२ पुष १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्