
घोराहीमा पुस २५ गतेदेखि सञ्चालन हुन थालेको ‘दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी एवं माघे मेला २०८२’ को तयारी पूरा भएको छ । मेला आयोजक नेपाल मगर संघ घोराही कार्यसमितिले विहीवार पत्रकार सम्मेलनको आयोजना गरि मेलाको बारेमा जानकारी गराएको हो ।
पर्यटन प्रवद्र्धन तथा कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी एवं माघ मेलाको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका संयोजक तथा नेपाल मगर संघ घोराहीका अध्यक्ष बेदबहादुर बुढाले जानकारी दिनु भएकाे छ । उहाका अनुसार मेलाको उद्घाटनअघि घोराही उपहानगरपालिका १४ लखनपार्कबाट विभिन्न जातजातिको भेषभुषा,कला सस्कृति झल्कने पहिरनसहित ¥याली निकालिने छ ।
पर्यटन प्रवर्धन, कला संस्कृतिको संरक्षणसँगै नेपाल मगर संघको घोराही–१८ ढोडेनीमा निर्माणाधिन अवस्थामा रहेको बहुउद्देश्य सभागृह निर्माणमा सहयोग र बेलझुण्डीमा रहेको गौशालालाई सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको महोत्सवलाई सफल बनाउनका लागि सवैको साथ र सहयोग आवश्यक रहेको मेलका संरक्षक तथा नेपाल मगर संघ दाङका अध्यक्ष मुक्त बुढाले बताउनुभयाे । मगर संघले लगाउन थालेको मेला व्यापरिक महोत्सव नभएको भन्दै उहाले उद्योगी, व्यवसायीलाई समेत सहयोगका लागि आग्रह गर्नु भएको छ ।
मेला घोराही उपमहानगरपालिका १४ गोरखा टोलमा सञ्चालन हुने छ । मेलामा आकर्षणका रुपमा विभिन्न जातजातिका भेषभुषा,गरगहना, खानासँगै जलपरी, लण्डन ब्रिज र बाल उद्यानका सामाग्री रहेका छन् । साथै केही कृषि तथा व्यावसायिक स्टलहरू रहनेछन् । मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ । पत्रकार सम्मेलनको सहजीकरण सञ्चार संयोजक कैलाश घर्तीमगरले गर्नु भएको थियाे ।

