चाडपर्वमा हुने फजुल खर्च कटाएर विद्यालयलाई व्यवसायी सपना वस्नेतकाे ४० हजार नगद सहयोग



तुलसीपुर उद्योग वाणिज्य संघकी पूर्व कार्यसमिति सदस्य एवं व्यवसायी सपना बस्नेतले तुलसीपुर उपमहानगरपालिका–९ मा रहेको माध्यमिक विद्यालय दोघरेलाई ४० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ ।

उहाँले चाडपर्वमा हुने अनावश्यक चटक–भडकलाई न्यून गर्दै समाजसेवामा खर्चिनुपर्ने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उपयोगी हुने गरी बस्ने राउण्ड टेबल निर्माणका लागि सहयोग उपलब्ध गराउनुभएको हो ।

व्यवसायी बस्नेतले भन्नुभयाे-“सामाजिक क्षेत्रमा सानो भए पनि टेवा पु¥याउन पाउँदा खुसी लागेको छ । चाडपर्वमा गरिने फजुल खर्चलाई कटौती गर्दै यस्ता काममा लगाउन सके समाज र बालबालिकालाई उपयोगी हुन्छ भन्ने सन्देश दिन चाहेको हुँ।”

सहयोग रकम विद्यालय प्रधानाध्यापक सुनिता यादवलाई  हस्तान्तरण गर्दै उहाँले शिक्षण–शिक्षणको वातावरण सुधार गर्दै विद्यार्थीमैत्री पूर्वाधार बनाउन सबैको सानो–सानो योगदान महत्वपूर्ण हुने बताउनुभयो ।

विद्यालयकी प्रधानाध्यापक सुनिता यादवले सहयोगप्रति खुसी  व्यक्त गर्नुभयाे ।  “याे सहयोगले विद्यालयमा राउण्ड टेबल निर्माण गर्न सहज हुने भयो । विद्यार्थीहरूलाई पढ्न–बस्न र छलफल गर्न सुविधा हुनेछ । यसले सिकाइ वातावरण अझ प्रोत्साहन गर्नेछ ।”- उहाँले भन्नुभयो ।

प्रधानाध्यापक यादवले विद्यालयमा अझै आवश्यक संरचना र भौतिक सुविधा अभाव रहेको भन्दै समाजका अन्य शुभचिन्तक, पूर्वविद्यार्थी र दाताहरुलाई पनि यस्तै सहयोगमा हातेमालो गर्न आग्रह गर्नुभयो ।

 

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस्