
नेकपा एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट केन्द्रीय सदस्य घनश्याम पाण्डेलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको सचिवालय बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पाण्डेलाई उम्मेदवारी दिने टुंगो लगाएको हो । यसअघि एमाले दाङले क्षेत्र नं. ३ बाट पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, धमकली चौधरी र घनश्याम पाण्डेको नाम सिफारिस गरेको थियो ।
घनश्याम पाण्डे नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्व तुलसीपुर उपमहानगरपालिकाका मेयर तथा सामाजिक, राजनीतिक र वातावरणीय क्षेत्रका अनुभवी नेताका रुपमा परिचित हुनुहुन्छ । करिब तीन दशकदेखि सक्रिय राजनीतिमा संलग्न पाण्डेले अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरी २०४६ सालको जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नु भएको थियाे ।
२०५४ सालको स्थानीय निर्वाचनमा २३ वर्षको उमेरमै तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित पाण्डे २०७४ सालमा मेयर पदमा फराकिलो मतान्तरसहित विजयी हुनु भएकाे थियाे ।
मेयरका रूपमा उहाले मेट्रो कलेज, मेट्रो अस्पताल, व्यवस्थित बसपार्क, तरकारी बजार, अटो भिलेज, टरिगाउँ विमानस्थल सञ्चालन, इन्धन डिपो, सुत्केरी भत्ता र ‘स्मार्ट छोरी’ कार्यक्रमजस्ता दीर्घकालीन र जनमुखी कामको थालनी गर्नु भएको थियाे ।
सामुदायिक वन क्षेत्रका विज्ञका रूपमा परिचित पाण्डेले संयुक्त राष्ट्रसंघको महासभासहित विश्वका ५० भन्दा बढी देशमा सामुदायिक वन र प्राकृतिक स्रोत व्यवस्थापनका विषयमा नेपालको पक्ष प्रस्तुत गरिसक्नु भएको छ।
हाल अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्षसमेत रहेका पाण्डे सहकारी, शिक्षा, कृषि र सामाजिक विकासका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएकाे छ।
अनुभव, संगठन क्षमता र जनअपेक्षालाई आत्मसात् गर्ने नेतृत्वका रूपमा चिनिएका पाण्डेको उम्मेदवारीलाई दाङ–३ मा एमालेका लागि महत्वपूर्ण मानिएको छ ।

