पुल निर्माणका लागि खनिएको खाल्डोमा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु




दाङको तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा पुल निर्माणका लागि खनिएको खाल्डोमा मोटरसाइकल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

लु ०२ ००१ प ११०२ नम्बरको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा रोल्पा त्रिवेणी गाउँपालिका–७ निवासी २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका–१७ झिंगै निवासी ३९ वर्षीय कमल ओली रहेका छन्।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको मोटरसाइकल पुलको पिल्लर निर्माणका लागि खनिएको गहिरो खाल्डोमा खस्दा दुर्घटना भएको हो। दुर्घटना आज बिहान करिब ९ बजे भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। सडक निर्माणस्थलमा उचित चेतावनी संकेत नहुँदा दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।

प्रकाशित मिति : २०८२ माघ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्