तुलसीपुरको पेट्रोल पम्पमा आगलागी, एक घाइते



तुलसीपुरको पेट्रोल पम्पमा आगलागी हुँदा एक जना घाइते भएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका ६, मेरो बजारस्थित तुल्सी पेट्रोल पम्पमा आज बिहान करिब साढे ५ बजे आगलागी भएको हो।

रा १ ख २५५८ नम्बरको ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा पम्पको कोठाभित्र बालिएको अगरबत्तीको रापबाट काउन्टरमा आगो लागेको प्रारम्भिक विवरण छ।

आगलागीमा परी पेट्रोल पम्पका ४२ वर्षीय मेनेजर हुकुम भण्डारीको हात, खुट्टा र अनुहारमा सामान्य जलन भएको छ। उहाँको अवस्था मध्यम रहेको र राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

स्थानीयवासी र प्रहरीको सक्रियतामा बिहान ५ बजेर ५० मिनेटमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्