लुम्बिनी प्रदेशका पाँच जिल्लाका १८ सडकखण्ड अवरुद्ध



लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण लुम्बिनी प्रदेशका पाँच जिल्लाका १८ सडकखण्ड अवरुद्ध भएका छन्। बाढीपहिरोको सबैभन्दा बढी असर गुल्मी र पाल्पामा परेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार गुल्मीका ७, पाल्पाका ५, प्युठानका ३, रोल्पाका २ र अर्घाखाँचीको एक सडकखण्ड अवरुद्ध भएका छन्।

गुल्मीमा कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्से, हर्मीचौर र पुर्तिघाट, रुद्रबेनी–वामीटक्सार सडकअन्तर्गत चन्द्रकोट–७ सिस्नेभिर, मदन भण्डारी सहायक राजमार्गअन्तर्गत छत्रकोट–३ शृङ्गा देउराली, तम्घास–रिडी सडकअन्तर्गत रेसुङ्गा–१० सिमिचौर र रिडी–वामीटक्सार सडकअन्तर्गत चन्द्रकोट–८ सोता क्षेत्रमा सडक अवरुद्ध भएको छ।

पाल्पामा रामपुर–आर्यभञ्ज्याङ सडक, कालीगण्डकी करिडोरअन्तर्गत रामपुर–१, सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–५, बुटवल–पोखरा सडकखण्डको तानसेन क्षेत्र तथा रामपुर–पिपलडाँडा सडकअन्तर्गत रम्भा–१ असर्दीमा यातायात अवरुद्ध भएको छ।

त्यस्तै, प्युठानमा बाग्दुला–बाहाने सडकअन्तर्गत नौबहिनी–६ बाग्दुला, बाहाने–खवाङ सडकअन्तर्गत नौबहिनी–६ लाखाचौर र भालुवाङ–प्युठान सडकअन्तर्गत माण्डवी–१ कुडुलेमा सडक बन्द छ।
रोल्पामा सहिदमार्गअन्तर्गत रोल्पा नगरपालिका–६ लामडाँडा र घोराही–होलेरी सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१३ बाहुनकुनेमा पहिरोका कारण सडक अवरुद्ध भएको छ।

अर्घाखाँचीको गोरुसिङ्गे–अर्घाखाँची सडकखण्डअन्तर्गत शितगंगा नगरपालिका–४ ठाडा क्षेत्रमा पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

अवरुद्ध सडकखण्डमध्ये केही स्थानमा पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको छ। तर, लगातार वर्षा भइरहेकाले सडक खुलाउन तथा यातायात तत्काल सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्