लुम्बिनी प्रदेशमा असोज महिनामा ५ सय ८९ मुद्दा दर्ता




लुम्बिनी प्रदेशमा प्रहरीले असोज महिनामा ५ सय ८९ वटा मुद्दा दर्ता गरेको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीका अनुसार असोज महिनामा जघन्य अपराधतर्फ १ सय ६ वटा, महिला तथा बालबालिकासम्बन्धी ४४ वटा र आर्थिक अपराधतर्फ ३९ वटा मुद्दा दर्ता भएका हुन्।
यसैगरी, अवैध भन्सार छली नियन्त्रणका क्रममा ६ करोड ८७ लाख ३४ हजार रुपैयाँ बराबरको सामानसहित २४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। राजस्व छलीतर्फ १ करोड ९७ लाख १७ हजार ७ सय ७२ रुपैयाँ बराबरको सामानसहित ४१ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार सवारी साधन चेकजाँचका क्रममा १ हजार ४ सय २८ वटा कारबाहीबाट १ करोड ४७ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको छ। प्राकृतिक सम्पदाको दोहन नियन्त्रणका क्रममा ७८ वटा सवारी साधन जफत गरी २१ लाख १४ हजार ६ सय १ रुपैयाँ राजस्व दाखिला गरिएको छ। त्यस्तै, अवैध काठ बरामदबाट १९ लाख ४६ हजार ७ सय २ रुपैयाँ जरिवाना असुल गरिएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो।
अदालतको फैसला कार्यान्वयनतर्फ प्रहरीले ३ सय १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरूबाट ७३ वर्ष ८ महिना १ दिन कैद सजाय कार्यान्वयन गराउनुका साथै २ करोड ५० लाख २८ हजार ५ सय ४६ रुपैयाँ जरिवाना असुल गरिएको छ।
यसैबीच, प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले ३३ थान भरुवा बन्दुक, ५ थान ऐ. नाल र ३ थान पेस्तोलसहित अवैध हातहतियार बरामद गरेको छ।
लागूऔषध कारोबार नियन्त्रणतर्फ ६५ वटा मुद्दा दर्ता गरी १ सय ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूबाट ३६ किलोग्राम चरेस, १ किलोग्राम ब्राउन सुगर, ९३ किलोग्राम गाँजा तथा अन्य प्रतिबन्धित औषधि बरामद गरिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार असोज महिनामा अपराध नियन्त्रण, राजस्व संकलन, फरार प्रतिवादी पक्राउ तथा लागूऔषध नियन्त्रणका क्षेत्रमा कारबाहीलाई निरन्तरता दिइएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्