मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २९औँ साधारण सभा सम्पन्न, अध्यक्षमा अमृत काजी शर्मा निर्विरोध निर्वाचित



दाङमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २९औँ साधारण सभा सम्पन्न भएको छ। शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न साधारण सभाले शाखाको नयाँ नेतृत्वसमेत चयन गरेको छ।

शाखाका सभापति कोमल डिसीको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा मानव अधिकारको संरक्षण, विधिको शासन, लोकतान्त्रिक मूल्य मान्यता तथा जलवायु न्यायका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि बस्नेतले विभिन्न राजनीतिक व्यवस्था परिवर्तन भए पनि देशमा विधिको शासन स्थापित हुन नसकेको बताउँदै मानव अधिकारको सम्मान, कानुनी शासन र जवाफदेहितालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

साधारण सभामा समाजका निवर्तमान केन्द्रीय सचिव निर्मल नेपालीले ‘जलवायु न्याय हाम्रो अधिकार’ विषयमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरण, प्रभावित नागरिकको अधिकार संरक्षण तथा जलवायु न्यायका लागि प्रभावकारी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

यसैबीच, साधारण सभाले मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ।

जसको सभापतिमा अमृत काजी शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यस्तै, उपसभापतिमा माधव बस्नेत, सचिवमा मधुसुदन गौतम, सहसचिवमा ओदबहादुर भण्डारी गणेश र कोषाध्यक्षमा नारायणी कुमारी वली चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा टेकप्रकाश केसी, बमकुमारी खड्का, रजनी शाह, भीमकुमारी सुनार, मदनकुमार केसी र विष्णुबहादुर केसी चयन हुनुभएको छ।

कार्यक्रममा अमृत शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहजीकरण शाखाका सचिव माधव बस्नेतले गर्नुभएको थियो।

मानव अधिकार, शान्ति, लोकतन्त्र, विधिको शासन र जलवायु न्यायका सवालमा निरन्तर आवाज उठाउँदै आएको समाजले आगामी दिनमा आफ्ना अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्