नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ । सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माणकार्य थालनी भएको थियो ।
नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरी सक्नुपर्ने भएपनि लामो समय नहर निर्माण ढिलाइको कारण गति लिन नसकेको नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो । महाकाली सिंचाई आयोजना तेस्रो चरणका अनुसार भारत तर्फबाट निमार्ण गरेको नहरको भागमा केही दिन अगाडिबाट परीक्षण गर्नको लागि पानी छोड्न थालेको छ । यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर बुधवार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ । लामो समय भारतले आफ्नो भूमीमा बनाउनुपर्ने मुल नहर निर्माणमा चासो देखाएको थिएन । तर केही वर्ष अगाडिबाट नहर निर्माणमा भारतीय पक्षले तदारुकता देखाएपछि २६ वर्षपछि नहरमा पानी आएको हो ।
महाकाली सिंचाई आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले तीन दिनदेखि निरन्तर रुपमा टनकपुर नहरबाट नेपालतर्फ पानी आइरहेको बताए । उनले टनकपुर नहरबाट २६ वर्षपछि आएको पानीले भोलि असार १५ अर्थात धान दिवसको दिन नहरको पानीबाट किसानहरुले धान रोप्ने कार्यक्रमसमेत रहेको बताए । निर्देशक बमले २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैमा खुसी छाएकोसमेत बताए । उनले नहर निर्माण पूर्ण रुपमा पूरा नभएकोले निर्माण कार्य सम्पन्न भएको क्षेत्रलाई आधार बनाएर नहरमा पानी सञ्चालन गर्ने योजना बनाएको बताए ।
आयोजना निर्देशक बमले नेपाल भारत सन्धि भएको झण्डै २६ वर्षसम्म आउँदा मुल नहरको १८.५ किलोमिटर क्षेत्रमा मात्रै मूलनहर निर्माण सम्पन्न भएको बताए । उनले व्रह्मदेव क्षेत्रबाट सन् २००१ मा मूलनहर निर्माण गर्ने भनेर अनुसन्धान थालिएको नहरको आर्थिक वर्ष ०६३/०६४ देखि सिँचाइको मुख्य नहर निर्माण अगाडि बढाइएको बताए । निर्देशक बमले मूलनहर निर्माण शुरु भएपनि नहर निर्माणको गति तीब्र भएको कारण नहरमा अहिले पानी बग्ने अवस्था आएको बताए । व्रह्मदेव क्षेत्रबाट १५२ किलोमिटर लामो मूलनहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २४ किलोमिटरको शाखा नहर बनाउनुपर्ने नहरको अहिले विभिन्न चरणमा नहर निमार्णको कार्य भइरहेको बताए ।
उनले महाकाली सन्धिको धारा ४ अनुसार नेपाली इलाकाको दोधारा–चाँदनी क्षेत्रका लागि शारदा नहरबाट पाउने पानीको लागि पनि नहर निमार्णको काम अगाडि बढाइएको बताए । निर्देशक बमले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आवश्यक जग्गा अधिकरण गर्नको लागि प्रक्रिया अगाडि बढाइएको पनि बताए । सन् २०२२ सम्म मूलनहर निर्माण पूर्ण रुपमा सम्पन्न गरिसक्नुपर्ने भनिएपनि निर्माण पूरा हुने सम्भावना भने न्यून देखिन्छ । सन्धिअनुसार मूल नहरबाट नेपालले गर्मीमा २८.३५ क्युमेक्स पानी पाउनेछ भने हिउँदको समयमा ८.५ क्युमेक्स पानी प्राप्त गर्नेछ ।