मनसुन सुरु भएसँगै चट्याङ पर्ने क्रम पनि बाक्लिएको छ । हरेक दिनजसो यसबाट जनधनको क्षति भएका विवरणहरू आइरहेका छन् । त्यसैले यसबाट सचेत रहँदै जोगिन सरकारले आग्रह गर्दै आएको छ । चट्याङ के हो र यसबाट कसरी बच्ने भन्नेबारे जानकारी लिएर सचेत हुने भने धेरै हदसम्म यसबाट बच्न र अरुलाई बचाउन सकिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
चट्याङ
चट्याङ एक प्रकारको विद्युतीय प्रवाह हो । आकासमा विपरित दिशाका बादलहरू तीव्र गतिमा जुधेपछि ठूलो आवाजका साथ करेन्ट उत्पन्न हुन्छ । र, त्यसबाट आगोको मुस्लोजस्तो झिल्को निस्किन्छ । त्यसलाई बिजुली चम्किएको भन्ने गरिएको प्राधिकरणले जनाएको छ । चट्याङ पर्दा अत्यन्तै धेरै करेन्ट उत्पन्न हुन्छ । र, त्यस्तो करेन्टको मात्र कहिले काहीँ आकाशबाट जमिनतिर केन्द्रित भई प्रभावित हुने बेला यसको सम्सर्गमा आउने कुरामा क्षति पुर्याउने गरेको प्राधिकरणको भनाइ छ ।
चट्याङबाट बच्न गर्नुपर्ने पूर्वतयारी
अर्थिङले बिजुली चम्किँदा निस्किएको करेन्ट र घरको करेन्टलाई जोडिन दिँदैन । त्यसैले दक्ष प्राविधिकको सहयोगमा तामा, आल्मुनियम तथा जीआईका रड घरको सबैभन्दा अग्लो भागमा राख्नुपर्छ । र, सोही धातु र पाता जोडेर जमिनसम्म पुर्याएर तामाको रडसँग जोडेर अर्थिङ गर्नुपर्छ ।
“घर तथा भवनहरू बनाउँदा अग्ला रुख, टावर र बिजुलीको लाइनबाट सकेसम्म टाढा बनाउनुपर्छ । घरमा जडान गरिएका विद्युतीय सामग्री बेलाबेलामा सुरक्षित छन वा छैनन् भनेर जाँच गर्नुपर्छ,” प्राधिकरणले भनेको छ ।
चट्याङ परेको समय घरबाहिर हुँदा चट्याङले अग्ला रुख, बिजुलीका तार, पोल, पोखरी र नदीमा सजिलै समात्नसक्ने भएकाले त्यसको नजिक जानु हुँदैन । धातुको गेट, पर्खाल, पोल जनिक नबस्न पनि प्राधिकरणले भनेको छ ।
खुला ठाउँमा गएर शरीरलाई सानो बनाएर टुक्रुक्क भुईंमा कुरकुच्चा जोडेर बसी दुबै हातले कान थुन्नुपर्छ ।
“बिजुली चम्किएको समयमा खुला तथा पानी परेको स्थानमा बस्नु हुँदैन । सकेसम्म घरमा बस्नुपर्छ । विद्युतीय उपकरण प्लगबाट छुटाउनु पर्छ,” प्राधिकरण भन्छ, “नदी तथा खोला तर्नु हुँदैन । पौडी खेल्नु हुँदैन । पानीको धारामा सिधै नुहाउनु हुँदैन । विद्युतीय उपकरण प्रयोग गर्नु हुँदैन ।”
सकेसम्म चट्याङ परेका बेला घरभित्रै झ्यालढोका बन्द गरेर बस्नुपर्छ भने धातुका रेलिङ छुन नहुने प्राधिकरणले जनाएको छ ।
चट्याङपछिको सतर्कता
चट्याङले असर गरेमा तुरुन्तै प्राथमिक उपचारपछि अस्पताल लैजानुपर्छ । चट्याङ सामान्यतया आराह्न ३ बजेपछि पर्ने हुनाले घरबाहिरको काम दिउँसै सकेर ३ बजेपछि घरमै बस्नुपर्छ ।
क्षतिको मूल्यांकन र पुनःस्थापनको काम गर्दा आपङ्गता भएका व्यक्ति, गर्भवती, बालबालिका, जेष्ठ नागरिक एकल महिला, महिला र असक्त व्यक्तिलाई प्राथमिकता दिन प्राधिकरणले आग्रह गरेको छ ।