प पश्चिम दाङमा जंगली बँदेलले मकै बाली सखाप पार्न थालेपछि स्थानीयहरुले सास्ती भोग्न बाध्य भएका छन् । मध्यवर्ती क्षेत्र र आसपासका जंगली बँदेल र बाँदरले अन्नबाली सखाप पार्न थालेपछि स्थानीयहरुले सास्ती भोग्न बाध्य भएका हुन् ।
दंगीशरण गाउँपालिका १ फुर्केसल्लीका स्थानीय पनि २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज घोषणा भएपछि वन्यजन्तुको कारण समस्या भोग्दै आएका बताएका छन् । उक्त ठाउँ पनि मध्यवर्ती क्षेत्रमा परेपछि केही वर्षदेखि वन्यजन्तुले गाउँमा पसेर अन्नबाली नष्ट गरेपछि उनीहरू आजित भएका हुन् । अन्नबाली मात्र नभई बाघले बाख्रा, भैँसी खाइदिने गरेका छन् ।
यस्तै शान्तिनगर गाउँपालिका २ सिमसुन्दुरपुर र विष्णुपुरका किसानले लगाएकोे मकैबाली दर्जनौँको संख्यामा आउने जंगली बँदेलले नष्ट गरेका छन् । स्थानीय का अनुशार रातको समयमा दर्जनौँको संख्यामा बँदेल आएर मकै नष्ट गरेका छन् ।
पछिल्लो समय जंगलमा बँदेलको संख्या बढ्दा गाउँमा आएर बाली नष्ट गरिदिएका छन् । धान नहुने क्षेत्रमा मकैखेती नष्ट गरिदिएपछि के खाएर बाच्ने भनेर स्थानीय चिन्तीत छन् ।
पछिल्लो केही वर्षयता पश्चिम दाङका बबई, शान्तिनगर, दंगीशरणका केही वडामा जंगली बँदेलले अन्नबाली नष्ट पार्दै आएका छन् । दाङ जिल्लासंग सिमाना जोडिएको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बबई गाउँपालिका ७ मलईमा पनि जंगली बँदेल र बाँदरले बर्सेनी अन्नबाली नष्ट गर्दै आएको स्थानीयहरुको भनाइ छ ।
राष्ट्रिय निकुञ्ज भएपछि जंगलमा जंगली जनावर बढ्दै गएको र गाउँमा आएर अन्नबालीनै सखाप पार्ने गरेको स्थानीय प्रेम पुनले बताए । उनका अनुसार गाउँमा करिब ३ सय घरधुरी रहेको र सबैले बारीमा लगाएको अन्नबाली प्रत्येक वर्ष जंगली जनावरले नष्ट गरिदिने गरेका छन् । यहाँको समस्याको लागि पटक(पटक निकुञ्ज र स्थानीय सरकारलाई खबर गरे पनि समाधान गर्न कसैले पहल नगरेको त्यहाका किसानको गुनासो छ ।