गुरुजजुरमा चार शैयाको स्वास्थ्य कक्ष स्थापना




दाङको तुलसीपुर-४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शैयाको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको विद्यालयले जनाएको छ । विद्यालयले नै चार लाख लगानी गरेर विद्यालयमा चार वटा शैया सञ्चालनमा ल्याएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार विद्यालयमा दैनिक १५/२० विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयले आफैँले उपचारका लागि शैया, प्राथमिक उपचारका सामग्री तथा औषधि खरिद गरेको हो ।

शैया स्थापना गरेपछि विद्यार्थीलाई उपचारमा सहज भएको उहाँको भनाइ छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको सल्लाहअनुसार बिरामी विद्यार्थीलाई उपचार गर्ने गरिएको उहाँले बताउनुभयो । विद्यार्थी सामान्य बिरामी भएपछि स्कुलमै उपचार गर्ने गरिएको छ ।

अहिले स्वास्थ्यसँग सम्बन्धित शिक्षकले नै विद्यार्थीलाई उपचार गर्ने गरेको उहाँले बताउनुभयो । सरकारले एक विद्यालय, एक स्वास्थ्यकर्मीको नीति ल्याए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । पटक-पटक उपमहानगरपालिका र प्रदेश सरकारलाई जानकारी गराउँदा पनि यस विषयमा कुनै चासो नदिएको सहायक प्रधानाध्यापक न्यौपानेले बताउनुभयो ।

वडाभित्रका स्वास्थ्य संस्थामा रहेका एक जना स्वास्थ्यकर्मीलाई भएपनि विद्यालयमा काजमा खटाएमा विद्यार्थीलाई उपचार गर्न निकै सहज हुने उहाँको भनाइ छ । अहिले सामान्य उपचार हुने गरेको भएपनि अलि बढी समस्या हुने बिरामीलाई प्रादेशिक अस्पताल वा बिरामीका आफन्तको इच्छाअनुसार विद्यालयबाट उपचारका लागि पठाउने गरिएको छ ।

स्वास्थ्यकर्मी भए विद्यालयमै उपचार गर्न सकिने भन्दै यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपन शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वरीप्रसाद गैरेले बताउनुभयो ।

अहिले बिरामीलाई विद्यालयबाट थप उपचारका लागि महँगो शूल्क तिनुपर्ने अवस्था रहेको छ । आर्थिक अवस्था कमजोर भएका केही विद्यार्थीलाई विद्यालयले नै उपचार खर्चसमेत दिने गरेको छ ।

विद्यालयमा शिशुदेखि कक्षा १२ र वनबाली विज्ञान सङ्कायमा गरी दुई हजार तीन सय विद्यार्थी छन् । ३० जना न्यून दृष्टि भएका विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्