आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै



यसरी गरौं लक्ष्मीपूजा

आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । विगतमा काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन हिजो काग तिहार मनाइएको थियो । आज घरको पहरेदार कुकुरलाई मनपर्ने खानेकुरा दिएर कुकुर तिहार मनाइन्छ । कुकुरको पूजा गरेमा ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप बालेर दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ ।आजै साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । घर आँगन सफासुघ्घर राखी लक्ष्मीको भक्तिपूर्वक पूजा गरे धनधान्यले पूर्ण हुने धार्मिक विश्वास छ ।गाईपूजा भने भोलि परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ । तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्