तुलसीपुरमा संचालित महायज्ञमा लक्ष्य भन्दा बढी रकम संकलन



मानव सेवा आश्रमको भवन निर्माणार्थ तुलसीपुरमा संचालित महायज्ञमा लक्ष्य भन्दा बढी रकम संकलन भएको छ । माघ १३ गतेबाट आजसम्म संचालित महायज्ञमा ५ करोड बढी रकम संकलन भएको हो ।

अरनिको मैदानमा सञ्चालन गरिएको महायज्ञबाट नगद तथा प्रतिवद्धता समेत गरि ५ करोड ९ लाख १६ हजार ३ सय ९३ रुपैया संकलन भएको हो । ५ करोड रुपैया संकलन गर्ने लक्ष्यका साथ संचालित महायज्ञमा नगद र संस्थागत प्रतिबद्धताबाट लक्ष्य पुरा भएको मुल आयोजक समितिले जनाएको छ । महायज्ञमा शैक्षिक अभियान्ता टिकाबहादुर जिसी र सुरेन्द्र जिसीले १० लाख ६६ हजार ६ सय ६६ रुपैया सहयोग प्रदान गर्नुभएको छ ।

वार्षिक १ लाख ११ हजार रुपैया मानव सेवा आश्रम सञ्चालनार्थ दिने प्रतिबद्धता जिसीले घोषणा गर्नुभएको छ । महायज्ञ अवधिभर ब्यक्तिगत रुपमा सबैभन्दा बढि नगद दान गर्नेमा जिसी परिवार रहेको छ ।

आर्थिक सहयोग संकलनको लक्ष्य लिएको महायज्ञबाट लक्ष्य अनुसारको रकम र उठे पछि अबको दुई बर्ष भित्र आधुनिक मानव स्मारक निर्माण हुने भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ र ७ को सिमाना हलवारमा मानव सेवा आश्रमको भवन निर्माण हुन लागेको छ ।

आश्रमको भवन निर्माणका लागि १५ करोड लाग्ने अनुमान गरिएको छ । महायज्ञबाट पाँच करोड बढी रकम संकलन भएपनि अझै करिब १० करोड आवश्यक पर्नेछ ।

यसैबिच महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यतामा महायज्ञको समापन भएको हो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाले मानवताको रक्षाका लागि गरिएको महायज्ञले नाना,खाना र छाना बनाउने अठोटका साथ उत्प्रेणापूर्वक सम्पन्न भएको भन्दै खुशी ब्यक्त गर्नुभयो ।

मानव सेवा आश्रमका कल्पनाकार रामजी अधिकारीले सलाही,धनगढी र सुर्खेतमा आगामी २०८१ मा मानव सेवा आश्रम निर्माणका लागि महायज्ञ गर्ने तयारी भएको जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का अध्यक्ष रामबहादुर जिसी, वडा नम्वर १९ का अध्यक्ष प्रेम योगीले मानव सेवा नै सर्वोत्तम कार्य भएको बताउनुभयो ।

सल्लाहकार चिरिञ्जीबि रिजालको स्वागत मन्तव्यबाट शुरु भएको समापन कार्यक्रममा धन्यवाद ज्ञापन दाता पहिचान उपसमितिका संयोजक सुरेश हमालले गर्नुभएको हो । कार्यक्रमको सहजीकरण सदस्य सचिव बुद्धप्रकास सिंहले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस्