प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा दाङमा ७ जना पत्रकार पुरस्कृत भएका छन् । चौतारी दाङले आज स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी विभिन्न सञ्चार माध्यममा आवद्ध ७ जना पत्रकारहरूलाई सम्मानसहित पुरस्कृत गरेको हो ।
चौतारी योगदान पुरस्कारबाट नयाँ युगबोध राष्ट्रीय दैनिकका समाचार सम्पादक जेएन सागर, चौतारी दाङका पूर्व अध्यक्ष दुर्गालाल केसी र सदस्य बिमला केसीले स्वर्गीय बुबा धनिराम केसीको स्मृतिमा स्थापना गरेको धनिराम स्मृति पत्रकारिता पुरस्कारबाट नयाँ युगबोध दैनिकका समाचारदाता दशरथ घिमिरे, प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य सरिता सुवेदीले स्वर्गीय हजुर बुबाको स्मृतिमा स्थापना गरेको हिमस्मृति शाहसिक पत्रकारिता पुरस्कारबाट रेडियो मध्यपश्चिमका समाचार सम्पादक छवि पुरी पुरस्कृत गरिएको छ ।
यस्तै स्वर्गीय मदन केसीको स्मृतिमा परिवारले स्थापना गरेको मदन केसी आर्थिक पत्रकारिता पुरस्कारबाट नयाँ युगबोध दैनिकका समाचारदाता सन्तोष खनाललाई पुरस्कृत गरिएको छ भने प्रेस चौतारी प्रतिभा पुरस्कारबाट रेडियो हापुरे एफएममा कार्यरत रामप्रसाद सुवेदी, रेडियो प्रकृतिमा कार्यरत चेतन वली र देउखुरी टुडे डटकममा कार्यरत लक्ष्मी पोख्रेललाई पुरस्कार प्रदान गरिएको छ ।
समाज परिवर्तनका लागि पत्रकारिता क्षेत्र महत्त्वपूर्ण ः मेयर चौधरी
कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतीथी नरूलाल चौधरीले समाज परिवर्तनका लागि पत्रकारिता क्षेत्र महत्त्वपूर्ण रहेको बताउनुभएको छ । मेयर चौधरीले पत्रकारहरुमा समस्या र चुनौती रहेको भन्दै सकारात्मक र नकारात्मक दुबै किसिमका समाचार उठाउनुपर्नेमा जोड दिनुभयो । यस्तै उहाँले नगरपालिकाको विधि र कानुन अनुसार राजश्व नबुझाउने मिडियालाई विज्ञापन दिन नसकिने समेत बताउनुभएको छ । सो अवसरमा बोल्दै प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले यस वर्ष नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वलाई देशभर नै सर्वसम्मत बनाउन बहस र छलफल भईरहेको बताउनुभयो । दाङमा पनि सर्वसम्मत बनाउन सवै प्रेस संगठनलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, एमाले लुम्बिनी प्रदेश कमिटी उपसचिव पुर्ण बुढाथोकी, एमाले दाङका सचिव मनोहर बुढाथोकी, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, सञ्चारिका समूह दाङका अध्यक्ष सुलोचना गौतम, नेपाल प्रेस युनियन दाङका सचिव अमरक्षितिज भण्डारी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, समाजवादी प्रेस संगठनका अध्यक्ष सुर्य विसी, जनपत्रकार संगठन दाङका उपाध्यक्ष जंग रेउले लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा चौतारी दाङका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । चौतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उपाध्यक्ष सुधासुमन ढकालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गर्नुभएको थियो भने उपाध्यक्ष दिप्तीशिखा चौधरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।