तुलसीपुर शान्ति महिला नमूना संसदले ३३ बुँदे घाेषणापत्र सार्वजनिक गर्याे



 

तुलसीपुर शान्ति महिला नमूना संसदद्वारा पारित सुझाव तथा ध्यानाकर्षण पत्र सार्वजनिक गरिएकाे छ ।

आज तुलसीपुरमा पत्रकार सम्मेलनकाे आयाेजना गर ३३ बुँदे सुझाव तथा ध्यानाकर्षण पत्र तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरिएकाे हाे ।

गएकाे चैत्र १७ र १८ गते तुलसीपुरमा सम्पन्न बैठकद्वारा पारित सुझाव तथा ध्यानाकर्षण पत्रमा विभिन्न ७ वटा विषयमा ३३ बुँदे सुझाव तथा ध्यानाकर्षण मूख्य रूपमा उठाइएको छ।

जसअनुसार सूचना,सञ्चार समन्वय र साझेदारी विकासकाे क्षेत्रमा सूचना प्रकाशन तथा प्रसारणमा विविधता,उपमहानगरपालिकाले चाैमासीक रूपमा सार्वजनिक सुनुवाइ अनिवार्य गर्नुपर्ने तथा ई-सिफारिससहित जनगुनासाे टिपाउन व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएकाे छ ।

राजनीतिक क्षेत्रमा आरक्षित काेटाबाहेक प्रायःमहिलाकाे सहभागिता शून्य देखिएकाले महिलाहरूलाई कार्यकारी भूमिकामा समेत कम्तीमा ५० प्रतिशत सहभागिताकाे सुनिश्चितता गर्न आवश्यक नीति तथा कार्यक्रम तय गर्न सुझाव पेश भएकाे छ ।

बालविवाह,लैङ्गिक तथा याैनिक हिंसा,जातीय विभेद,मानव बेचविखन जस्ता घट्नाहरूले महिलाहरू प्रभावित भएकाे देखिएकाले मानव अधिकारकाे संरक्षण गर्दै सामाजिक विकासका सवाललाई पनि गाैरवकाे विषयका रूपमा अगाडि बढाउन ध्यानाकर्षण गराईएकाे छ ।

समान काममा समान ज्याला कार्यान्वयनका लागि पालिकाकाे तर्फबाट प्रभावकारी रूपमा कार्यान्वयन गर्न पहल गर्नुपर्न, उपमहानगरभित्रका सबै सार्वजनिक संथलहरू पहुँचयुक्त बनाउन सुझाब पेश गरिएकाे छ ।

आर्थिक अभाव र वेराेजगारीकाे समस्याले उच्चशिक्षा अध्ययन गर्न नसकेका छाेरीहरूकाे पढाईलाई निरन्तरता दिनुपर्ने,

आर्थिक विकास र सांस्कृतिक विकासकाे क्षेत्रमा यथाेचित कदम बढाउनुपर्ने सुझाव तथा ध्यानाकर्षणपत्रमा उल्लेख  गरिएकाे छ  ।

तुलसीपुर शान्ति महिला नमूना संसद तुलसीपुर उपमहानगरपालिका र नवजागरण महिला तथा बालबालिका संरक्षण केन्द्रकाे आयाेजनामा  भएकाे थियाे ।

तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चाैधरीकाे अध्यक्षता तथा मेयर टिकाराम खड्काकाे प्रमुख आतिथ्यतामा भएकाे सुझाव तथा घाेषाणापत्र सार्वजनिक  कार्यक्रममा नवजागरण महिला तथा बालबालिका संरक्षण केन्द्रका अध्यक्ष नवराज लामिछानेले ३३ बुँदे सुझावसहितकाे ध्यानाकर्षण पत्रका बारेमा प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रमकाे सहजिकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्