समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रसारण प्रविधि तालिम एव व्यापार प्रवर्द्धन अन्तरक्रिया कार्यक्रम दाङकाे तुलसीपुरमा आजदेखि सुरु भएको छ ।
रेडियो प्रसार सेवा बिकास समिति (रेडियो नेपाल) को आयोजनामा कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले गर्नुभएको हो ।
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव तथा रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुबेदीले १६औँ योजनामा रेडियो नेपाललाई सबै जनताको पहुँचमा पुर्याउने लक्ष्य राखेको बताउनुभयो । साथै उहाँले सबै जनताको पहुँचमा रेडियो नेपाललाई पुर्याउन निरन्तर प्रयासमा रहेको बताउनुभयो । उहाँले रेडियो नेपाल स्वार्थरहित, जनउत्तरदायी र निष्पक्ष सूचना, समाचार र कार्यक्रमहरु उत्पादन गरी सार्वजनिक महत्वका विषयहरु प्रसारण गर्ने कार्यमा निरन्तर लागि परेको बताउनुभयो ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । वर्तमानमा देश भित्रको विज्ञापन व्यवसायमा आएको समग्र संकुचनको प्रभाव रेडियो नेपालमा पनि परेको बताउदै उहाले नेपाल सरकारको ७५ प्रतिशत र २५ प्रतिशत रेडियोले व्यहोर्ने गरेको बताउनुभयाे। फलस्वरुप देशभरको तथ्यांक हेर्दा सबै भन्दा कम लुम्बिनी प्रदेशको देखिएको जानकारी गराउनुभयाे। उहाँले मगर खाम, अवधि र पश्चिमा थारु भाषाका कार्यपत्रहरु कार्यक्रममा प्रस्तुत हुने समेत बताउनुभयो ।
कार्यक्रममा मगर खाम भाषाको कार्यपत्र हितबहादुर मगर, अवधि भाषाको भगवानदाश यादव र पश्चिमा थारु भाषाको छविलाल कोपिलाले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, नेपाली काङ्ग्रेसका जिल्ला सहसचिव राजु आचार्य, एमाले दाङका सचिव श्याम डाङ्गी, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज निर्मल आचार्य,तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशराज भण्डारी, पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल के.सी , राप्ती साहित्य परिषद् दाङकाअध्यक्ष टिकाराम उदासि लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा निजी क्षेत्रका उद्योगी, व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
रेडियो नेपालले समावेशी प्रसार सामग्री उत्पादन र प्रसारण प्रविधिका लागि तालिमको आयोजना गरेको हो । आज जेठ ९ गतेदेखि सुरु भएकाे कार्यक्रम जेठ १४ गते सम्पन्न हुने जनाइएको छ ।