दाङ भ्याली यातायात प्रालिकाे स्थापना दिवसमा रक्तदान



दाङ भ्याली यातायात प्रालिले स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । प्रालिले तेस्रो स्थापना दिवसका अवसरमा दाङका दुई स्थान तुलसीपुर र घोराहीमा रक्तदान कार्यक्रम गरेको हो ।

प्रालिका अनुसार तुलसीपुर स्थित रक्त सञ्चार केन्द्रबाट ४० जना र घोराही रक्तदान केन्द्रबाट १४ जना गरी जम्मा ५४ जनाले रक्तदान गरेका छन् । सवारी दुर्घटनामा परी घाईते भएकाहरुका लागि आवश्यक पर्दा रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बेत प्रकाश वलीले बताउनुभयो ।

पछिल्लो समय जिल्लामा रगतको अभावका कारण बिरामी तथा घाईतेहरुले सास्ती भोग्दै आइरहेको अवस्थामा थोरै पनि सहजता ल्याउन प्रालिले स्थापना दिवसमा रक्तदान कार्यक्रम गरेको हो । दाङ भ्याली यातायात प्रालिले नाफामुखी कामहरु मात्रै नभएर विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको उहाँले स्मरण गराउनुभयो ।

कार्यक्रममा नमस्ते एकता यातायात प्रालिका सल्लाहकार ईश्वरी प्रसाद गैरेले रक्तदान गर्दा हुन फाईदाहरुका विषयमा प्रकाश पार्नुभयो । उहाँले आफुले २१ औँ पटक रक्तदान गरिसकेको बताउदै अन्य रक्तदाताहरुलाई उहाँले हौसला प्रदान गर्नुभयो ।

पहिलो पटक रक्तदान गर्न पुग्नुभएका पुरुष्तोतम रजौरेले कार्यक्रममा सहभागी हुन पाँउदा खुशी लागेको बताउनुभयो । आफ्नो रगतले कसैको ज्यान बचाउन मद्दत पुगोस भन्ने उद्धेश्यले रक्तदान गर्न आएको उहाँले बताउनुभयो ।

दाङ भ्याली यातायात प्रालिका पदाधिकारीहरु, कर्मचारीहरु, आवद्ध रहेका अटो टेम्पो चालकहरु र विभिन्न संघ संस्थाबाट आमन्त्रित ५४ जना व्यक्तिहरुले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रमलाई निरन्तरता दिने समेत प्रालिले जनाएको छ । दाङ भ्याली यातायात प्रालिले जिल्लाभर ४ वटा शाखा सञ्चालन गरेको छ भने ति शाखाहरुमा ८ सय बढी तिन पाङग्रे अटो टेम्पो व्यवसायी आवद्ध छन् ।

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्