दाङमा नदिमा डुबेर एक बालकको मृत्यु भएको छ । बबई नदिमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब पौने तीन बजेतिर डुबेर नरेश खड्काका ९ वर्षीय छोरा पुष्कर खड्काको मृत्यु भएको हो ।
दंगिशरण गाउँपालिका-४ बैबाङस्थित बबई नदिमा पौडी खेल्ने क्रममा दुई जना बालक डुबेका थिए । डुबेका बालकमध्ये पुष्करको मृत्यु भएको हो । अर्का एक बालकाका भने सकुशल उद्धार गरिएको छ ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी र स्थानीयको टोली उद्धारका लागि घटनास्थल पुगेका थिए। उद्धार कार्यमा संलग्न टोलीले तारा पुनलाई सकुशल उद्धार गर्न सफल भए पनि पुष्कर खड्का डुबेर बेपत्ता भएका थिए ।
थप खोजी कार्यपछि करिब साढे तीन बजे डुबेको स्थानबाट करिब १०० मिटर तल नदीको बीच भागमा पुष्करको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
घटनास्थलमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा ५ जनाको टोली खटिएको छ । घटनाको थप अनुसन्धान जारी रहेको छ ।