तुलसीपुरमा ज्ञानज्योति अन्तरकलेज फुटबल  प्रतियोगिता २०८१ आजदेखि शुरु



ज्ञानज्योति अन्तरकलेज फुटबल  प्रतियोगिता २०८१ आजदेखि शुरु भएको छ । ज्ञानज्योति फाउण्डेसनद्वारा सञ्चालित ज्ञानज्योति कलेज प्लसटुमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहने फुटबल प्रतियोगिताको आज उद्घाटन भएको हो ।

ज्ञानज्योति कलेज तुलसीपुरका एकेडेमिक कोर्डिनेटर शरद गौतमको अध्यक्षता तथा पूर्व राष्ट्रिय खेलाडी सुधिर गुरुङको प्रमुख आतिथ्यता एवं तुलसीपुर उद्योग वाणिज्य सङ्घका सचिव नवीन राईको विशिष्ट आतित्थ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले कलेज स्तरमा हुने यस्ता प्रतियोगिताले दक्ष खेलाडीहरु उत्पादनमा टेवा पुर्‍याउनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म पुग्न उनीहरुलाई मद्दत मिल्ने बताउनुभयो ।

सो अवसरमा वोल्दै ज्ञानज्योति फाउन्डेसनका एकेडेमिक कोर्डिनेटर शरद गौतमले विद्यार्थीहरुको पठन-पाठन मात्र नभई चौतर्फि विकासका लागि कलेजले वार्षिक रुपमा खेलकुद प्रतियोगिताको आयोजना गर्ने गरेको बताउनुभयो ।

प्लसटुमा अध्ययनरत १३ वटा समूह प्रतियोगितामा सहभागी रहेका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहले क्रमश नगद २० हजार,१० हजार, शिल्ड,मेडल र  प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।आजदेखि अरनिको मैदान तुलसीपुरमा शुरु भएको प्रतियोगिता ४ दिन आागामी मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ ।

उद्घाटन  कार्यक्रमको सञ्चालन ज्ञानज्योति कलेजका शिक्षक सन्तोष केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्