थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ ले मनाउन लागेको माघ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । तुलसीपुर उपमहानगरपालिका ५, नमुना भुहयार थान जबरपुरमा यही पुस २३ र २४ गते हुन लागेको माघ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ को आयोजना महटावाँ महासंघ तुलसीपुर उपमहानगर समितिको संयुक्त आयोजनामा थारु भाषा, भेषभुषा, संस्कृति हमार पहिचान संरक्षण, संम्वद्र्धन ओ विकास कर्ना हमार अभियान भन्ने मुल नाराका साथ हुन लागेको महोत्सवको पहिलो दिनमा माघमा गाइने ढुमु्र गीत (बेलुका) गाउने र दोस्रो दिन बृहत सांस्कृतिक कार्यक्रम गरिने थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ का सचिव जितेन्द्र चौधरीले जानकारी दिनुभयाे ।
पहिलो दिन बेलुकी ढुम्रु गीत गाउने कार्यक्रम छ भने दोस्रो दिन बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। महोत्सवमा थारु कलाकार रोशन रत्गैया, राज कुसुम्या, पार्वती चौधरी, र डिला घरच्वारको प्रस्तुति रहनेछ। साथै, थारु समुदायका महोत्या, छोक्रा, हुडुंग्या, र मघौटा नाच प्रदर्शन गरिनेछ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने कार्यक्रम छ। दोस्रो दिन सांस्कृतिक झाँकी तुलसीपुर बजारका विभिन्न चोकमा परिक्रमा गर्दै जबरपुरस्थित प्रांगणमा पुगेर समापन हुने आयाेजकले जनाएको छ।