जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल लिन्छौं: मुख्यमन्त्री आचार्य



लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न प्रदेश सरकारले पहल लिने बताउनु भएको छ । संघीय सरकारसँग समन्वय गरेर जितगढी किल्लालाई सूचिकृत गर्ने उल्लेख गर्दै उहाँले राष्ट्रिय गौरवको विषयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयास गरिने बताउनु भएको हो ।

जितगढी उत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय सपुतका रूपमा नामाकरण गर्नका लागि पनि संघीय सरकारसँग पहल गरिने जानकारी दिनुभयो । इतिहासबाट धेरै कुरा बुझ्न र सिक्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले वीर सपुतको त्याग र बलिदानीलाई कहिल्यै बिर्सन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो,´नयाँ पुस्तालाई वीरताको गाथा सुनाउनु जरुरी छ । इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्न आवश्यक छ । राष्ट्रप्रति देखाइएको समर्पणको भावनालाई उच्च सम्मान गर्न जरुरी छ । त्यो त्याग र समर्पणलाई कहिल्यै भुल्न सक्दैनौँ ।´

मुख्यमन्त्री आचार्यले अंग्रेज सेनालाई हराउन सफल भएको गौरवमय इतिहास सबैले बुझ्नुपर्ने बताउनुभयो । आत्मविश्वासकै कारण नेपाली फौजले अंग्रेज फौजलाई पराजित गर्न सफल भएको उल्लेख गर्दै उहाँले भन्नुभयाे-`उतिबेलाका योद्धाहरूले जोगाएको स्वाभिमानका कारण आज हामी यहाँ छौँ ।´

त्यस्तै, मुख्यमन्त्री आचार्यले बुटवललाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारको योजनालाई दृढताका साथ कार्यान्वयन गरिने बताउनु भयो । स्थानीय सरकारसँग साझेदारी गर्दै बुटवलको उन्नति र समृद्धिका निम्ति बनाइएका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने उहाँले स्पष्ट पार्नुभयो ।

नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा रुपन्देहीको बुटवलस्थित जितगढीमा उत्सव मनाइएको हो । नेपाल–अंग्रेज युद्धका बेला बुटवलको जितगढीमा नेपाली फौजले अंग्रेज फौजलाई हराएको ऐतिहासिक तथ्य छ ।

हार व्यहोरेपछि नेपाल कब्जा गर्न आएको अंग्रेज फौज पछि फर्किएको थियो । जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले वि.सं. १८७२ साल वैशाख ७ गते अंग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको थियो । सोही खुसियालीमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ ।

उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बुटवल उपमहानगरको प्रवर्द्धनमा आयोजित उक्त उत्सवमा विभिन्न कलाकारहरूले देशभक्ति गीत तथा नृत्य प्रस्तुत गरेका छन् । गौरवमय इतिहास बोकेको जितगढी किल्लामा नेपाली सेनाले जितेको स्मरण गर्दै उत्सव मनाउने परम्परा कायम गरिएको हो ।

वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा तत्कालीन पाल्पाका सेन राजाले अंग्रेज फौजविरुद्ध युद्ध गरेका थिए । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी निर्माण गरेका थिए । त्यही फौजले वि.सं. १८७१ सालदेखि सुरु भएको पटक–पटकको आक्रमण सामना गर्दै अन्ततः वि.सं. १८७२ वैशाख ७ गते विजय हासिल गरेको थियो ।

अंग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको हो । तत्कालीन समयमा नुवाकोट गढी, सिमरन गढी लगायत नेपालका सात स्थानमा अंग्रेजविरुद्ध युद्ध भएका थिए ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्