लुम्बिनी प्रदेश सभामा प्रारम्भ भयाे निती तथा कार्यक्रममाथिकाे छलफल



लुम्बिनी प्रदेश सभामा सरकारको तर्फबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । शुक्रबार छैठौं अधिवेशनको सातौं बैठकबाट आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यले बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नु भएको थियो । सोही प्रस्तावको आधारमा अहिले दलगत प्रतिनिधित्वको आधारमा प्रदेश सभामा छलफल भइरहेको हो । लुम्बिनी प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता राख्दै २०४ बुँदे वार्षिक नीति तथा कार्यक्रम ल्याएको थियो ।

यस्तै, लुम्बिनी प्रदेश सभाको आजै बसेको छैठौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको “वार्षिक नीति तथा कार्यक्रम” को एक प्रति मुख्यमन्त्री चेतनारायण आचार्यले पेश गर्नु भएको छ ।

प्रदेश प्रमुखको सम्बोधनप्रति प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले पेश गरेको धन्यवाद ज्ञापनको प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गर्नु भएको थियो । प्रदेश सभाले धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मतिले पारित गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गर्नु भयो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्