राप्ती प्रेस मञ्चले शहीद कृष्णसेन इच्छुकको २३औँ स्मृति दिवस मनायो




ओमप्रकाश गुप्ता

राप्ती प्रेस मञ्च, राप्ती गाउँपालिकाले शहीद कृष्णसेन इच्छुकको २३औँ स्मृति दिवस मनाएको छ। मञ्चले राप्ती गाउँपालिका–१, भालुवाङको पुल्चोक बजारमा रहेको इच्छुकको शालिकमा माल्यार्पण गरी स्मृति दिवस मनाएको हो।

कार्यक्रम मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्षता, लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो। सभामुख घर्तीले शहीद इच्छुकको शालिकमा माल्यार्पण गर्दै उनप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्नुभयो। उहाँले इच्छुकको मार्क्सवादी साहित्य, सांस्कृतिक र पत्रकारिता क्षेत्रका साथै क्रान्तिकारी नेताको रूपमा नेपाली क्रान्तिमा पुर्‍याएको योगदानको स्मरण गर्नुभयो।

कार्यक्रमका वक्ताहरूले शहीद इच्छुकले देखाएको बाटोमा हिँड्न सुझाव दिए। उनीहरूले राष्ट्रका लागि जस्तोसुकै अवस्थामा पनि पत्रकारले निर्भीकतापूर्वक कलम चलाउनुपर्ने बताए। साथै, लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका, देउखुरीमा रहेको इच्छुकको शालिक र उनको पुख्र्यौली घरलाई शहीद पार्कको रूपमा विकास गर्न सरकारले ध्यान दिनुपर्ने सुझाव दिए।

कार्यक्रममा वरिष्ठ कवि अहमद अब्दुल रहुफ, नागरिक समाज देउखुरीका पूर्वसंयोजक दामोदर भण्डारीलगायतले मन्तव्य राखेका थिए। इच्छुकका समकालीन साथीहरू, उद्योगी, व्यवसायी, साहित्यकार र पत्रकारहरूको उपस्थिति रहेको थियाे ।

मञ्चका महासचिव ओमप्रकाश गुप्ताकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे शहजिकरण वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले गर्नु भएको थियाे ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्