तुलसीपुरमा आफ्नै साथीको कुटपिटबाट घाइते भएका एक बालकको उपचारकै क्रममा मृत्यु भएको छ ।
गएको जेठ १९ गते आफ्नै साथीको कुटपिटबाट घाइते भएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका घर भई तुलसीपुर उपमहानगरपालिका–८ दूधेनामा बस्दै आएका १४ वर्षीय विराज गिरीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथीको कुटपिटबाट गम्भिर घाइते भएका गिरीको टाउकोमा चोट लागेको थियो । कुटपिटबाट घाइते भएका गिरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज लगिएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्ष सुर्य रानाका अनुसार गिरीको उपचारका क्रममा नर्सीङहोम नेपालगञ्जमा आज बिहान ३ बजेतिर मृत्यु भएको हाे । बालकको शव सोही अस्पतालमा रहेको छ ।
गएको जेठ १९ गते तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित सक्सेस बोर्डिङ स्कुल अगाडि मृतक गिरी र १५ वर्षीय यज्ञ वलीबीच सामान्य विवादका क्रममा झैँ–झगडा हुँदा वलीको कुटपिटबाट गिरी गम्भीर घाइते हुनुभएको थियो ।
घटना लगत्तै कुटपिटमा संलग्न यज्ञ वलीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको रानाले बताउनुभयो ।