मुक्त कमलरीको अधिकार सुनिश्चित गर्न सशक्तिकरण परियोजना सुरु



मुक्त कमलरीहरूको अधिकार सुनिश्चितता, पुनःस्थापना र सशक्तिकरणका लागि द एशिया फाउन्डेसन (लोटस रेजिलियन्स फण्ड) को आर्थिक सहयोगमा मुक्त कमलरी विकास मञ्चले सशक्तिकरण परियोजना सुरु गरेको छ। घोराहीमा आयोजना गरिएको कार्यक्रममा परियोजनाको औपचारिक घोषणा र १२औं कमलरी मुक्ति दिवस एकैसाथ मनाइएको हो।

परियोजनाबाट दाङ, बाँके र बर्दियाका १ हजार ३११ जना मुक्त कमलरी प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ। मञ्चका अध्यक्ष हिरामोति चौधरीका अनुसार, परियोजनाले अझै पनि परिचयपत्र नपाएका कमलरीको पहिचान गरी वितरणमा सहयोग गर्नेछ। लुम्बिनी प्रदेशमा हालसम्म ३ हजार ७३५ जनाले परिचयपत्र पाइसकेका छन् भने अझै कैयौंको परिचयपत्र हस्ताक्षर नहुँदा वितरण रोकिएको छ।

कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै परिचयपत्र र बजेट व्यवस्थापनमा सहकार्य गरिने बताउनुभयाे। संस्थापक अध्यक्ष मञ्जिता चौधरीले परिचयपत्र नपाएका कारण धेरै मुक्त कमलरी छात्रवृत्ति लगायतका सुविधाबाट बञ्चित भएको उल्लेख गर्नुुभयाे ।

परियोजना २०२५ को अक्टोबर ३१ सम्म सञ्चालन हुनेछ र नेतृत्व विकास, वकालत तालिम, सामुदायिक अन्तरक्रिया, जनप्रतिनिधिसँग सम्वाद लगायत गतिविधि सञ्चालन गरिनेछ।

सरकारले २०७० सालमा कमलरी प्रथा अन्त्यको घोषणा गरे पनि अझै धेरै मुक्त कमलरीहरू शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट वञ्चित छन्। परियोजनाले यिनै समस्यामा परेका महिलाहरूलाई सहयोग पुर्‍याउने संयोजक सुबोध चौधरीले जानकारी दिनुभयो।

कार्यक्रम मञ्चकी उपाध्यक्ष निर्मला चौधरीको स्वागत मन्तव्य र ज्ञानु थापाको सहजीकरणमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्