
नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको आयोजनामा तथा तुलसिपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको सहकार्य र माध्यमिक विद्यालय तुलसिपुर–८, अस्वारको व्यवस्थापनमा रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।
‘रक्तदान गरौँ, आशा दिऔँ; हामी सँगै जीवन बचाउँछौँ’ भन्ने मूल नाराका साथ कार्यक्रम ५९औं रक्त सञ्चार सेवा स्थापना दिवसको अवसरमा विद्यालय परिसरमै सम्पन्न गरिएको हो।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाका सभापति देवा डाँगीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका उपसभापति एवम् तुलसिपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य अधिकृत विमल के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भयो। प्रमुख अतिथि के.सी.ले कार्यक्रममा प्रशिक्षकको भूमिका समेत निर्वाह गर्नु भएको थियाे।
प्रशिक्षण सत्रमा प्रमुख अतिथि के.सी.ले सहभागीहरूलाई नेपाल रेडक्रसको इतिहास, रक्त सञ्चार सेवा स्थापनाको पृष्ठभूमि, रक्तदानको आवश्यकता र महत्व, रक्तदान गर्दा हुने फाइदाहरू, रक्तदान गर्न मिल्ने र नमिल्ने अवस्था, रक्त समूहका बारेमा लगायतका विषयमा प्रस्तुति दिनुभएको थियाे ।
माध्यमिक विद्यालय अस्वारका प्रधानाध्यापक निमकान्त रेग्मीले विद्यालयमा पहिलोपटक रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको बताउँदै आयोजक संस्था रेडक्रस उपशाखालाई धन्यवाद व्यक्त गर्नुभयाे ।
साथै, यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने सुझाव दिनुभएकाे थियाे।
कार्यक्रम उपशाखाका सदस्य गैरा न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रममा शिक्षक भीमबहादुर के.सी., खगेन्द्र काफ्ले, स्मृति योगीलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण उपशाखाका सदस्य केशर बहादुर ओलीले गर्नु भएको थियाे ।
कार्यक्रममा विद्यालयका शिक्षक तथा कक्षा १०, ११ र १२ मा अध्ययनरत ६५ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

