
प्रभु बैंक लिमिटेड, घोराही शाखाले दाङ घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित गणेश प्राथमिक विद्यालय, सेवार बगालेलाई शैक्षिक सामग्री सहयोग गरेको छ।
शिक्षाको पहुँच कमजोर रहेका समुदायमा अध्ययनरत बालबालिकाहरूलाई लक्षित गरी बैंकले शैक्षिक सामग्री वितरण गरेको हो। कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब ४८ जना विद्यार्थीलाई स्कुल झोला (व्याग), कापी, कलम, इरेजर (इलेजर), र कटर (कटहर) प्रदान गरिएको छ।
सहयोगका क्रममा बैंकका शाखा प्रवन्धक संगम पन्त, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा ‘घोराही बनाऔं अभियान’का संयोजक सविन प्रियासन, बैंकका कर्जा प्रवन्धक प्रतिक रिजाल, एकराज राना लगायतको टोली सहभागी रहेको थियो।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बैंकले प्रत्येक विद्यार्थीलाई १/१ वटा झोला, १/१ दर्जन कापी, १/१ पकेट प्यान्सिल, साथै इरेजर र कटहर वितरण गरेको छ। शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित भएका थिए भने विद्यालय परिवारले बैंकप्रति आभार व्यक्त गरेको थियो।
शाखा प्रवन्धक पन्तले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

