थारु पत्रकार संघले ‘फुलरिया’ प्रकाशनलाई पुनः निरन्तरता दिने



थारु पत्रकार संघले संस्थाको मुखपत्र फुलरिया प्रकाशनलाई पुनः नियमित गर्ने निर्णय गरेको छ।

शनिबार चितवनको सौराहास्थित होटल भिष्टामा बसेको केन्द्रीय समितिको बैठकले केही वर्षयता अवरुद्ध रहेको प्रकाशनलाई निरन्तरता दिने निर्णय गरेको हो।

बैठकले फोनिजको स्थापना दिवसमा संस्थागत रूपमा सक्रिय सहभागिता जनाउने, संघीय समितिले काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रम तथा जिल्ला शाखाले गर्ने कार्यक्रममा समेत उपस्थिति रहने निर्णय गरेको छ।

केन्द्रीय अध्यक्ष सन्तकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले संस्थाको प्रगति र अवस्थाबारे समीक्षा गर्दै कार्तिक मसान्तभित्र सबै जिल्लामा अधिवेशन सम्पन्न गर्ने, विधान संशोधन कार्य पूर्णता दिने र संस्थाका योजनालाई प्रभावकारी बनाउन कार्ययोजना तयार गर्ने निर्णयसमेत गरेको छ।

कार्य सम्पादनमा सहजता ल्याउन अध्यक्ष चौधरीकै नेतृत्वमा पाँच सदस्यीय सचिवालय समिति गठन गरिएको संघले जनाएको छ।

बैठकमा सल्लाहकार कृष्णराज सर्वहारी, अक्षयकोष दाता तथा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य डा. मनोजकुमार चौधरी र उनकी धर्मपत्नी हेमा चौधरी, थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीलगायत थारु पत्रकार संघका सम्पूर्ण कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।

प्रकाशित मिति : २०८२ साउन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्