दंगीशरणको बागरमा यस वर्ष असाेज २ देखि महोत्सव हुने



दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित बागरमा यस वर्ष पनि कृषि, पर्यटन, व्यापारिक र सांस्कृतिक महोत्सव हुने भएको छ । दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत बागर बजार क्षेत्रमा आगामी असोज २ गतेदेखि १३ गतेसम्म महोत्सव आयोजना गरिने भएको हो ।

फ्रेन्डस स्केट जोन प्रालि नारायणपुरको आयोजनामा र मितेरी युवा क्लब तुलसीपुरको सहआयोजनामा हुने महोत्सवको संरक्षकमा दंगीशरण गाउँपालिका र वडा नं. ६ रहनेछन् । यसअघि पनि सोही स्थानमा महोत्सव भव्य रुपमा सम्पन्न भएको थियो ।

महोत्सव सञ्चालक समितिका संयोजक अजय बुढाथोकीका अनुसार स्थानीय उत्पादनलाई बजारीकरण गर्ने र पर्यटनलाई प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । “दंगीशरणको कृषि, संस्कृतिलगायतका विशेषता बाहिर ल्याउन महोत्सव प्रभावकारी प्लेटफर्म बन्नेछ ।,”

महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरु प्रस्तुत हुनेछन् । ज्योति मगर, जी–बब, राजु परियार, शान्तारानी परियार, श्याम राना, अनु चौधरी, टीका सानु, अन्जु कुस्मी, भागीरथ चलाउने, शत्ति चन्द, सिमरन परियारलगायतका कलाकारहरूले रंगारंग कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

त्यस्तै, महोत्सवमा विभिन्न स्टलहरू राखिने छन् । कृषि उपज, स्थानीय उत्पादन, व्यापारिक वस्तु, हस्तकला, र घरेलु सामानका स्टल रहनेछन् । इच्छुक व्यवसायी वा सहभागीहरूले स्टलका लागि भदौ ३१ गतेसम्म सम्पर्क गर्न सक्ने सूचना जारी गरिएको आयोजकहरूले जनाएकाे छ।

महोत्सवले दंगीशरण मात्र नभई सम्पूर्ण दाङ र वरपरका क्षेत्रको कृषि, व्यापार र पर्यटनलाई थप गति दिने अपेक्षा लिइएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्