तुलसीपुर–७ मा जातीय भेदभाव न्यूनिकरणसम्बन्धी अभिमुखीकरण सम्पन्न



दलित महिला संघको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा न.७ काे समन्वयमा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई लक्षित गरी टोल व्यवस्थापन र जातीय भेदभाव तथा छुवाछुत न्यूनिकरणसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष युवा कराराको अध्यक्षता र वडा अध्यक्ष रामबहादुर जीसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जीसीले संघीय राज्यव्यवस्थामा वडा सरकार नै जनताकाे सबैभन्दा नजिकको सरकार हुने बताउनुभयो । उहाँले वडासँग सहकार्य गर्ने सबैभन्दा महत्वपूर्ण इकाइ टोल विकास संस्था भएको उल्लेख गर्दै टोल संस्थाहरु सबल र सक्षम भए वडाको क्षमता पनि बलियो हुने धारणा राख्नुभयो ।

संघका अध्यक्ष कराराले अझै पनि समुदायमा विभिन्न बहानामा जातीय विभेदका घटना देखिने गरेको उल्लेख गर्दै यसको न्यूनिकरणका लागि टोल विकास संस्थाहरुले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा खेमराज विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो भने सहजिकरण संघका सचिव गंगा विश्वकर्माले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्