तुलसीपुर कारागारबाट २५३ कैदी फरार, ४८ पक्राउ



दाङको तुलसीपुर कारागारबाट २५३ जना कैदी फरार भएका छन् । कारागार प्रशासनका अनुसार हिजोदेखि आज बिहानसम्म कैदीहरूले आफैं कारागारमा तोडफोड गर्दै भागेका हुन् ।

कारागार प्रशासन तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालका अनुसार फरारमध्ये हालसम्म नेपाली सेनाको सहयोगमा ४८ जनालाई पक्राउ गरिएको छ भने बाँकी अझै फरार छन् ।

भाग्ने सबै पुरुष कैदी रहेको र कारागारमा रहेका महिला कैदी भने नभागेको सेजुवालले जानकारी दिनुभयो । हाल तुलसीपुर कारागारमा ४६९ जना कैदीबन्दी रहेका छन्, जसमा ४ सय पुरुष, ६३ महिला र ६ आश्रित बालबालिका छन् ।

कैदीलाई नियन्त्रणमा लिन सेनाले हवाई फायर समेत गरेको तर पनि उनीहरू भाग्न सफल भएको प्रशासनले जनाएको छ । भागेका कैदीबन्दीको खोजीकार्य जारी छ ।

यस घटनापछि सुरक्षा जोखिम बढेको कारागार प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्