
पूर्व सांसद गेहेन्द्र गिरिको सचिवालयले फेसबुक मार्फत शुक्रबार सार्वजनिक सन्देश जारी गर्दै पछिल्ला घटनाप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ।
सन्देशमा गिरीले आफू हाल कुनै पनि सार्वजनिक पदमा नभएको र २०६४ सालयता प्रत्यक्ष जनसेवा गर्ने जिम्मेवारी नसम्हालेको प्रष्ट पार्नु भएको छ। तर २०५६ देखि २०६४ सम्म माननीयको जिम्मेवारीमा रहँदा रोजगार, विकास र जनसेवामा योगदान गर्न सकेको स्मरण गर्नु भएको छ ।
“राजनीति गरेको आज ५० वर्ष भइसकेको छ, तर मैले कहिल्यै कसैसँग एक रुपैयाँ पनि लिएको छैन। त्यस्तो कार्य मसँग मिल्दैन, न भविष्यमा हुनेछ,” सन्देशमा गिरीको भनाइ उद्धृत गरिएको छ।
उहाले आफू सक्रिय राजनीतिमा रहँदा र पछि पनि विभिन्न आन्दोलनका क्रममा घरमा तोडफोड, आगजनी र लुटपाटसम्म भएको पीडादायी प्रसंगसमेत स्मरण गर्नु भएको छ। गिरीको अनुसार, घर तीन पटक तोडफोडमा पर्यो, गाडी जलाइयो र सामान लुटियो। तर यस्ता घटनाले सेवाभावबाट आफूलाई पछि हटाउन नसकेको बताउनु भएको छ।
सन्देशमार्फत उहाले आफ्ना स्वास्थ्य र सुरक्षाबारे चिन्ता व्यक्त गर्ने साथीभाइ, शुभेच्छुक र आमजनप्रति आभार प्रकट गर्नु भएको छ। “म र मेरो परिवार सकुशल छौं, तपाईंहरूको माया र सद्भावकै कारण सम्भव भएको हो,”।
युवापुस्तातर्फ अपिल गर्दै गिरीले अब देश निर्माणको जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको बताउनुभएकाे छ। “कृपया आफूलाई गलत व्यक्तिहरूको प्रयोगबाट जोगाउनुहोस्। गलत नेतृत्वले देश बिगार्न सक्छ—सावधान रहनुहोस्, सजग बन्नुहोस्। देश बनाउन अब तपाईंहरूको पालो हो,” सन्देशमा भनिएको छ।
सार्वजनिक जानकारीको लागि सन्देश!
म हाल कुनै पनि सार्वजनिक पदमा छैन, जहाँबाट जनतालाई प्रत्यक्ष सेवा गर्न सकूँ। म २०६४ सालदेखि यस्तो जिम्मेवारीमा छैन। तर जब म २०५६ देखि २०६४ सम्म माननीयको जिम्मेवारीमा थिएँ, त्यो अवधिमा मैले धेरै व्यक्तिलाई रोजगार, विकास र जनसेवा सम्बन्धी कार्यहरू गर्न सकेको छु।
घमण्डका साथ भन्न चाहन्छु—राजनीति गरेको आज ५० वर्ष भइसक्यो, तर मैले कहिल्यै कसैसँग एक रुपैयाँ पनि लिएको छैन। त्यस्तो कार्य मसँग मिल्दैन, मबाट कहिल्यै भएको छैन, न भविष्यमा हुनेछ।
यस्तो हुँदाहुँदै पनि मेरो घरमा तीन पटक आन्दोलनका नाममा तोडफोड, आगजनी र लुटपाट गरियो। मेरो गाडी जलाइयो, घरका सामानहरू लुटिए। यस्ता घटनाबाट दुखित भए पनि म सेवाभावबाट पछि हटेको छैन।
धेरै साथीहरूले मेरो स्वास्थ्य र सुरक्षाको चिन्ता गर्दै फोन र सन्देश पठाउनु भएकोमा धन्यवाद दिन चाहन्छु। म र मेरो परिवार सकुशल छौं, यो तपाईंहरूको माया र सद्भावकै कारण सम्भव भएको हो।
युवापुस्तालाई हार्दिक अपिल
अब देश निर्माणको जिम्मेवारी युवाको काँधमा आएको छ। कृपया आफूलाई गलत व्यक्तिहरूको प्रयोगबाट जोगाउनुहोस्। गलत नेतृत्वले देश बिगार्न सक्छ—सावधान रहनुहोस्, सजग बन्नुहोस्।
देश बनाउन अब तपाईंहरूको पालो हो।
सुभेच्छा व्यक्त गर्दछु।

