
काठमाण्डौमा १९ विद्यार्थीको ज्यान जाने गरी भएको घटनाप्रति नेकपा (एमाले) दाङले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टीको विशेष बैठकले आन्दोलनरत जेनजी पुस्तामाथि अनावश्यक बल प्रयोग गरिएको भन्दै घाइते सबैको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ।
बैठकले जेनजी पुस्ताले अघि सारेका मागलाई संविधानको मर्मअनुसार सम्बोधन गर्नुपर्नेमा जोड दिंदै सिंहदरबारदेखि स्थानीय तहका कार्यालयहरूमा भएको आगजनीप्रति घोर निन्दा व्यक्त गरेको छ। साथै, छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ।
नेता छविलाल वली र टिकाराम खडकाले कार्यकर्तालाई निराश नहुन आह्वान गर्दै सरसफाइ, पुनर्निर्माण, सामाजिक सद्भाव र सहिष्णुताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
प्रकाशित मिति : २०८२ भाद्र २६ गते बिहिवार

