
थारु समुदायका समस्या, प्रश्न र सम्भावनाबारे गहिरो छलफल गर्न दाङमा असोज १० र ११ गते दुई दिने थारुज क्याराभान कन्क्लेभ सम्पन्न भएको छ । वैकल्पिक अनुसन्धान केन्द्र, ख्याल बगाल, लौव अग्रासन र बुह्रान इन्कोर्पोरेशनको सहकार्यमा आयोजित कन्क्लेभमा थारु समुदायको भविष्यका लागि वैकल्पिक दृष्टिकोण प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको पहिलो दिन १० वटा कार्यपत्र प्रस्तुत भएका थिए । जसअन्तर्गत डा. जर्मन चौधरीले ‘दाङ जिल्लाका स्थानीय सरकारमा थारुहरुको पहुँच’, पत्रकार सन्तोष दहितले ‘मुक्त कमैया, कम्लहरीहरुको सामाजिक आर्थिक अवस्था’, दिप्ती शिखा चौधरीले ‘थारु महिला उद्यमशिलताको पहिला’, निता चौधरीले ‘थारु महिलाको सशक्तिकरणको स्थिति’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।
त्यस्तै, रंगकर्मी प्रणव आकाशले ‘थारु संस्कृतिको विस्तार, बाधा चुनौती र अवसर’, पत्रकार प्रकाश चौधरीले ‘थारु र जनयुद्ध’, अधिवक्ता श्रीराम चौधरीले ‘थारु भाषामा सरकारी कामकाजः अवस्था, चुनौती र अवसर’ प्रस्तुत गरेका थिए । यस्तै, विकास चौधरीले ‘हस्पिटालिटी विजनेशमा थारुहरुको चुनौती र अवसर’, कृष्ण चौधरी समर्पणले ‘बुह्रानः पश्चिम नेपालको आशा र संघर्षको भूमि’ र अशोक चौधरीले ‘सहकारी लाभको बाँडफाट प्रक्रियामा थारुहरुको सहभागिता’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

दोस्रो दिन पनि ८ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । नगरप्रमुख नरुलाल चौधरीले ‘स्थानीय विकासमा स्थानीय समुदायको सहभागिता’, केबी चौधरीले ‘थारु समुदायमा शिक्षाको प्रश्न’, कुलबहादुर चौधरीले ‘थारु भाषाको शिक्षामा चुनौती र अवसर’, भुवन चौधरीले ‘सरकारी बजेट तर्जुमा थारुहरुको सहभागिता’ विषयमा कार्यपत्र राखे ।
यस्तै, डा. कृष्णराज सर्वहारीले ‘थारु समुदाय र पत्रकारिता’, सोगतविर चौधरीले ‘नेपालका भूमिपुत्र थारुहरुको विरासत र वर्तमान अवस्था’, छविलाल कोपिलाले ‘थारु समुदायको सन्दर्भमा साहित्य र विकास’ र सवि थारुले ‘नेपालका जेनजी पुस्ताको अवसर’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।
दुई दिनको कन्क्लेभमा थारु प्राध्यापक, शिक्षक, अनुसन्धानकर्ता, लेखक, पत्रकारलगायत विभिन्न क्षेत्रमा सक्रिय बौद्धिक व्यक्तिहरूको सहभागिता रहेको थियो । आयोजकका अनुसार कार्यक्रममा १०० भन्दा बढी सहभागी थिए ।
वैकल्पिक अनुसन्धान केन्द्रका अध्यक्ष भुवन चौधरीले यो श्रृंखला प्रत्येक वर्ष थरुहटका विभिन्न जिल्लामा निरन्तरता दिइने जानकारी दिनुभयाे ।

