
नेकपा एमाले दाङको जिल्ला कमिटीको बैठक आज घोराहीमा सम्पन्न भएको छ। बैठकले आउँदो ११औं केन्द्रिय महाधिवेशनका लागि दाङबाट २२ जना प्रतिनिधि सहभागी हुने टुंगो लगाएको छ।
प्रचार विभाग प्रमुख संगीत बस्यालका अनुसार, पार्टी केन्द्रको निर्णयअनुसार दाङका तीनवटै निर्वाचन क्षेत्र र दलित तर्फ गरी कुल २२ जना प्रतिनिधि चयन गरिने भएको हो।
निर्वाचन क्षेत्र नम्बर १ बाट २ जना खुला, २ महिला र १ जना ४० वर्ष मुनिका युवा गरी ५ जना, क्षेत्र नम्बर २ बाट ४ खुला, २ महिला र १ युवा गरी ७ जना, क्षेत्र नम्बर ३ बाट ४ खुला, २ महिला र १ युवा गरी ७ जना, र दलित तर्फबाट २ खुला र १ महिला गरी ३ जना प्रतिनिधि हुनेछन्।
बैठकले पार्टी केन्द्रको मापदण्डअनुसार प्रतिनिधि चयन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। त्यसका साथै, दाङबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य, केन्द्रिय विभागका सदस्य र सल्लाहकारहरु आयोजकका रुपमा महाधिवेशनमा सहभागी हुनेछन्।
बैठक जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता र पोलिटब्युरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
बैठकमा पोलिटब्युरो सदस्य शान्ता चौधरी, केन्द्रिय सदस्यहरू भागवत विश्वासी, जीवन गौतम, सिता सिग्देल नयौपाने, साजिदा सिद्धिकी, लेखा समिति सदस्य सावित्रा विश्वकर्मा, केन्द्रिय सल्लाहकार सारदा स्वर्णकार लगायतका नेताहरूको उपस्थिति थियो।
बैठकले पार्टी संगठन सुदृढीकरण र आगामी कार्यक्रमहरू तय गरेको छ। जसअनुसार कार्तिक २० गते दाङका सबै पालिका कमिटीहरूको बैठक, कार्तिक २२ गते वडास्तरका भेला, कार्तिक २५ गते पालिका सभाहरू, कार्तिक २७ गते तुलसीपुरमा हुने लुम्बिनी प्रदेशस्तरीय युवा सभामा सक्रिय सहभागिता जनाउने निर्णय गरिएको छ ।
त्यस्तै, घोराही र तुलसीपुरमा रहेका पार्टी कार्यालय पुनर्निर्माणका लागि जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला पदाधिकारी, क्षेत्रीय संयोजक र आर्थिक विभाग प्रमुखसहितको समिति गठन गरिएको छ।
बैठकले आगामी मंसिर ४ गते क्षेत्र नम्बर २ मा, मंसिर ५ गते क्षेत्र नम्बर १ मा, र मंसिर ६ गते क्षेत्र नम्बर ३ मा क्षेत्रीय समन्वय समिति बैठक बस्ने र मंसिर १३ गते सबै क्षेत्रमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गर्ने भेला गर्ने निर्णय पनि गरेको छ।
बैठकले पार्टी गतिविधिबाट टाढा रहेका तथा अन्य दलमा गएका कार्यकर्ताहरुलाई पुनः पार्टीमा फर्कन आह्वान गरेको छ।
उपाध्यक्ष मनोहर बुढाथोकीकाे स्वागत मन्तब्य बाट सुरु भएको बैठककाे सहजिकरण सचिव स्याम डाँगीले गर्नुभएको थियो।

