
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चुनाब आगामी चैत्र २ गते हुने भएको छ।शुक्रबार दिउँसो आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यमकान्त भण्डारीले आगामी तीन वर्षे कार्यकालका लागि निर्वाचनको मिति घोषणा गर्नुभएको हो।
संस्थाले हालसम्म गरेका कार्यको प्रगति विवरण सुनाउदै उहाँले बबई लिफ्टीङको काम अहिलेसम्म करिब ७० प्रतिशत पूरा भएको जानकारी दिनुभयो ।
तुलसीपुरमा खानेपानीको वितरणलाई सहज बनाउनका लागि सञ्चालनमा आउन लागेको बबई लिफ्टीङको काम अहिलेसम्म करिब ७० प्रतिशत पूरा भएको अध्यक्ष भण्डारीले बताउनुभयो। आगामी वर्ष २०८२ असार मसान्तभित्र सक्ने गरी सहलगानी आयोजनाको काम तीव्र पारिएको उहाँले बताउनुभयो ।
अध्यक्ष भण्डारीका अनुशार सहलगानी आयोजना अन्तर्गत बबई लिफ्टीङको काम अहिलेसम्म विशेषगरी मुख्य पाइपलाइन विस्तारको काम, वितरण पाइपलाइन विस्तारको काम, आकाशे ट्यांकी निर्माणको काम सकिएको छ । सहलगानी आयोजनाको काम सम्पन्न भएमा दैनिक थप ७१ लाख लिटर पानी वितरण गर्न सकिने बताउनुभयो।
पत्रकार सम्मेलनमा काेषाध्यक्ष भाेला थापाले संस्थाको आगामी नेतृत्वलाई मतदान गर्नका लागि उपभोक्ताले कम्तिमा गएको मंसिरसम्मको खानेपानी महशुल फागुन १५ भित्र बुझाइसक्नुपर्ने बताउनुभयो। महशुल समयमै नबुझाउने मतदाताले निर्वाचनमा मतदान गर्न नपाउने समेत उहाँले जानकारी दिनुभयो।
तुलसीपुर खानेपानीले अहिले ११ हजार धारामा पानी वितरण गरिरहेको छ।

