तुलसीपुरमा विपद् जोखिम सन्देश संचार योजना छलफल तथा अनुमोदन कार्यक्रम



तुलसीपुर उपमहानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तयार गरेको संचार रणनीतिक योजना २०८२ सम्बन्धी छलफल तथा अनुमोदन कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।

 

तुलसीपुर उपमहानगरपालिकाकाे आयोजना र ओरेक नेपालकाे सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हाे ।विपद् जाेखिम न्युनिकरण तथा ब्यवस्थापन संयाेजक एंव वडा नं. ६ का वडा अध्यक्ष दुजमान भण्डारीकाे अध्यक्षता तथा उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न  भएको थियो ।

कार्यक्रममा उप–प्रमुख स्यानि चौधरी, प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, नेपाली सेना, नेपाल प्रहरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, महिला समूह, युएन वुमनका प्रतिनिधि, विभिन्न संघ–संस्थाका पदाधिकारी र सरोकारवालाको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहजकर्ता श्रमलाल चौधरीले तुलसीपुर उपमहानगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन संचार रणनीतिक योजना २०८२ प्रस्तुत गर्नुभयो । प्रस्तुत रणनीतिमा राष्ट्रिय नीति तथा कार्ययोजना, तुलसीपुर उपमहानगरपालिकाको नीतिगत व्यवस्था, विपद् व्यवस्थापनका चुनौती र अवसर, र सरोकारवालाबीचको संचार समन्वयका विषयहरू समेटिएका छन् ।

उपमहानगर प्रमुख टिकाराम खड्काले सो रणनीतिक योजनाले उपमहानगरपालिकाको आगामी कार्ययोजनालाई स्पष्ट दिशानिर्देशन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो- “विपद् जोखिम न्यूनीकरणका कामहरू योजनाबद्ध रूपमा अघि बढाउन संचार नीति अत्यन्तै जरुरी छ । यो दस्तावेजले नीति र व्यवहारबीचको समन्वयमा टेवा पुर्‍याउनेछ ।”

त्यस्तै उप–प्रमुख स्यानि चौधरीले कुनै पनि समयमा विपद् आइपर्न सक्ने भन्दै सबैलाई सतर्क र जिम्मेवार बन्न आग्रह गर्नुभयो । तुलसीपुरसहित देशभरका धेरै सरकारी संरचनाहरू क्षणभरमै ध्वस्त भएको प्रती दुख ब्यक्त गर्दै भन्नुभयो – विपद् आउँदैन भनेर नसोची, हामी सबैले सचेत, चनाखो र तयारी अवस्थामा रहनुपर्छ ।”

प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले दस्तावेज अझ स्पष्ट र कार्यान्वयनमुखी बनाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “रणनीतिमा प्रत्येक शीर्षक र उपशीर्षकले के सन्देश दिन खोजेको हो भन्ने कुरा स्पष्ट हुनुपर्छ । प्रभावकारी संचार नीति बनाउनका लागि संकेतात्मक मात्र होइन, व्यवहारिक रणनीतिहरू पनि समावेश हुनुपर्छ ।” साथै उहाले दस्तावेजलाई कानुन, ऐन र विद्यमान नीतिहरूसँग सुसम्बद्ध गर्नुपर्ने, आवधिक मूल्यांकन प्रणाली राख्नुपर्ने र प्रभावकारिताको मापन गर्न सकिने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य शाखाका विमल केसी, महिला तथा बालबालिका शाखा प्रमुख माया श्रेष्ठ, रुक्मणि महर्जन लगायत अन्य सहभागीहरूले पनि विभिन्न सुझावहरू प्रस्तुत गरे । उनीहरूले नियमित सूचना प्रवाह प्रणालीलाई अझ सशक्त बनाउन, प्रदेश सरकारले पठाएका सूचना वडा–वडामा समयमै वितरण गर्न,  विपद् व्यवस्थापन समितिलाई पुनर्संरचना गरी अधिक समावेशी बनाउनुपर्ने सुझाव राखे ।

सहभागीहरूले विपद् व्यवस्थापनका क्षेत्रमा संचारलाई प्राथमिकता दिएर मात्र प्रभावकारी समन्वय सम्भव हुनेमा जोड दिए । उनीहरूले समुदायमा सचेतना, पूर्वतयारी र समन्वय अभावले ठूलो क्षति हुने भएकाले स्थानीय तहबाटै सशक्त अभियान चलाउनुपर्ने धारणा राखे । यस्तै  रणनीति समितिमा महिलालाई अनिवार्य रुपमा  समेट्नुपर्ने सुझाव दिए ।

कार्यक्रमको सहजीकरण ओरेक नेपालकी कल्पना चौधरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्