
तुलसिपुर उपमहानगरपालिकाले बजार अनुगमनको कामलाई पछिल्लो समयमा झन् तिव्र बनाएको छ। उपमहानगरपालिकाले कार्तिक १८ गतेदेखि २७ गतेसम्मको ६ दिनमा कुल ४ सय ४३ वटा व्यवसायहरूको अनुगमन गरेको हो।
सुचना अधिकारी यज्ञ केसिका अनुसार अनुगमनका क्रममा ४ सय ४३ मध्ये मात्र १८ वटा, अर्थात् ४ प्रतिशत व्यवसायले उपमहानगरपालिकामा दर्ता वा नवीकरण गराएको पाइएको छ।
दर्ता नवीकरण नगरेका व्यवसायलाई सहजता प्रदान गर्न एकपटकका लागि फिल्डमै दर्ता नवीकरण सेवा दिइए पनि यो सेवा विशेष सूचना र सचेतनामूलक उद्देश्यका लागि मात्र भएको उपमहानगरपालिकाले स्पष्ट पारेको छ। सबै व्यवसायीले आफ्नो व्यवसाय समयमै दर्ता तथा नवीकरण गर्नुपर्छ भन्ने सन्देश दिन यस्तो पहल गरिएको हो।

लामो समयदेखि दर्ता नवीकरण नगराएका व्यवसायीलाई चालू आर्थिक वर्ष २०८२/०८३ मा विशेष छुटसहित सेवा प्रदान गरिएको छ। अनुगमनकै क्रममा ६६ प्रतिशत व्यवसायले स्थलमै दर्ता नवीकरण गरेका छन् भने ३० प्रतिशत व्यवसायलाई ३ दिनभित्र नवीकरण गर्न पत्र दिइएको छ।
यस अवधिमा व्यवसाय दर्ता तथा नवीकरण प्रक्रियाबाट उपमहानगरपालिकाले ७ लाख १६ हजार ८ सय ५० रुपैयाँ राजस्व संकलन गरेको छ। दर्ता, नवीकरण र कानुनी प्रक्रियासम्बन्धी जानकारी उपमहानगरपालिकाले निरन्तर प्रसारण गर्दै व्यवसायीलाई समयमै दर्ता नवीकरण गर्न आग्रह गरेको छ।

