तुलसीपुर ७ को नयाँ प्रशासनिक भवन उद्घाटन, सेवा प्रवाह सहज



तुलसीपुर उपमहानगरपालिका ७ को नयाँ प्रशासनिक भवन बिहीबार उद्घाटनसँगै वडाले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेयर टिकाराम खड्काले अब वडा नम्बर ७ ले साघुँरो ठाउँबाट सेवा दिनुपर्ने बाध्यता अन्त्य भएको बताउँदै प्रशासनिक काम सहज र छिटो हुने उल्लेख गर्नुभयो।

उपमेयर स्यानी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले पनि नयाँ भवनले सेवा प्रवाहमा गति आउने धारणा राख्नु भयो।

वडा अध्यक्ष रामबहादुर जिसीले आफ्नो कार्यकालमा भवन निर्माण सम्पन्न हुनु गौरवको विषय भएको बताउँदै नयाँ संरचनाबाट छिटो, छरितो र प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा विभिन्न वडाध्यक्ष, स्थानीय संस्था तथा संघ–संस्थाका प्रतिनिधिहरूले भवन निर्माणपछि वडाको सेवा प्रवाह झनै सहज र व्यवस्थित हुने विश्वास व्यक्त गरे।

राप्ती लाइफ केयर अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालले वडा ७ का सबै बासिन्दालाई उपचारमा १० प्रतिशत छुट दिने घोषणा गर्नुभयो।

उद्घाटन समारोहमा निशुल्क स्वास्थ्य शिविर, खानेपानी वितरण, सम्मान तथा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्