राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले आज दाङ आउँदै



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति स्वर्णिम वाग्ले तुलसीपुर नगर कमिटीको प्रथम भेलालाई सम्बोधन गर्न आज दाङ आउनुहुने भएको छ। वाग्ले सुर्खेतबाट साँझ नै तुलसीपुर आइपुग्ने रास्वपा दाङका उपसभापति तथा नगर भेलाका मुल संयोजक अर्जुन केसीले जानकारी दिनुभयो।

केसीका अनुसार वाग्लेसँगै रास्वपाका अन्य केन्द्रीय नेताहरू, प्रवक्ता मनिष झा, केन्द्रीय सचिवालय सदस्य गणेश पराजुली लगायत पनि कार्यक्रममा सहभागी हुनेछन्। तुलसीपुरको बिएसएस पाटी प्यालेसमा हुने नगर भेलाले नयाँ नेतृत्व चयन गर्नेछ।

नगर भेला तयारीबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा रास्वपाको उत्पादन तथा प्रवद्र्धन विभागका केन्द्रीय उपप्रमुख तथा केन्द्रीय निर्वाचन प्रतिनिधि हरि रिजालले वर्तमान परम्परागत दलबाट जनतामा वितृष्णा बढेपछि रास्वपाप्रति विश्वास बढिरहेको दाबी गर्नुभयो। उहाँले पुराना दलहरू भ्रष्टाचारको केन्द्रका रूपमा स्थापित भइसकेको आरोप पनि लगाउनुभयो।

रास्वपा दाङका प्रचारप्रसार विभाग संयोजक क्षेत्र खड्काले नगर भेलामा सहभागी भई नयाँ नेतृत्व छनोट प्रक्रियालाई मजबुत बनाउन आम नागरिकलाई आग्रह गर्नुभयो। पत्रकार भेटघाट कार्यक्रम रास्वपाका जिल्ला सदस्य बलिराम केसीले सहजीकरण गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्