सहकर्मी समाजको कोशेली कार्यक्रमअन्तर्गत गठित त्रिवेणी समूहको आठौँ वार्षिक साधारण सभा सम्पन्न



सहकर्मी समाजको कोशेली कार्यक्रममार्फत गठित त्रिवेणी समूहको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । समूहकी अध्यक्ष पार्वती कडेलको अध्यक्षता तथा  गाउँपालिका अध्यक्ष शम्भु गिरिकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि गिरिले ऋणीबाट साहु बन्ने लक्ष्यसहित समूहमार्फत भैलो, मघौटा नाच जस्ता मौलिक गतिविधिबाट रकम संकलन गरी बचत गर्ने बानिकाे विकास गर्नु समुहका लागि उपलब्धि मुलक काम भएको  बताउनुभयो । उहाँले फजुल खर्च नगरी मितव्ययी बन्न, सामाजिक सञ्जालको दुरुपयोगबाट बच्न र डिजिटल ज्ञान हासिल गर्न आग्रह गर्नुभयो ।

साथै, प्रदेशस्तरबाट मानव विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम ल्याइरहेको उल्लेख गर्दै गलैँचा निर्माण तालिमका लागि प्रत्येक वडाबाट ३/३ जना पठाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि पिमा कुमारी खड्काले सामूहिक कामबाट समुहले  आम्दानी बढाएको प्रती खुसि ब्यक्त गर्दै    यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । बचतसँगै महिलाहरू संगठित र विश्वासिलाे बनेको उल्लेख गर्दै घरदेखि समाजसम्म महिलामाथि विश्वास बढ्दै गएको धारणा राख्नुभयो । समूहले गाउँघरमा एकता र संगठित हुन सिकाएको उहाँको भनाइ थियो ।

ज्येष्ठ नागरिक सुकलाल वली, समृद्ध समाजका भीष्मा बिसी, त्रिवेणी समूहका सदस्य तेजकुमारी चौधरी, नविता चौधरी, राधा चौधरी, अजम्बरी समूहकी तारा चौधरी, सूर्यमुखी समूहकी राममोती चौधरी तथा त्रिवेणी समूहकी निर्मला थापालगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रममा समूह सदस्य शोभा डाङ्गीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनअनुसार स्वास्थ्य उपचारतर्फ लगानी, सामूहिक तरकारी खेती तथा मौसमी बचत संकलन गर्दै आएको उल्लेख छ । घुम्ती कोष, मासिक बचत संकलन तथा सामूहिक खेतीपातीबाट जम्मा ६ लाख ३० हजार ५० रुपैयाँ बचत भएको छ ।

यस्तै आर्थिक प्रतिवेदनअनुसार पशुपन्छी पालन, कृषि, शिक्षा, वैदेशिक रोजगार तथा उपचार खर्चलगायतमा ६ लाख २९ हजार रुपैयाँ लगानी तथा खर्च गरिएको उल्लेख गरिएको छ ।

कार्यक्रममा सीता चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजीकरण रामकली चौधरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ पुष ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्